सम्मरीमाईमा किशोरीहरु माथि कुनैपनि किसिमको हिंसा हुन नदिने गाउपालिका अध्यक्षद्धारा प्रतिबद्धता

उर्मिला यादव यात्री , ४५९  पटक हेरिएको

मर्चवार, बैशाख ६

किशोरी अधिकार मंच रुपन्देहीको आयोजनामा मंगलबार सम्मरीमाइ गाउपालिकामा पालिका स्तरीय किशोरी र अभिभावक सम्मेलन सम्पन्न भएको छ । किशोरी अधिकार मंच रुपन्देहीको अध्यक्ष सुदा हरिजनको अध्यक्षता तथा गाउपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी बिनोद कुमार श्रीवास्तवले सम्मरीमाई गाउपालिकामा अबदेखि किशोरीहरु माथि कुनै पनि किसिमको हिंसा हुन नदिने बताउनु भएको छ । उहाले समाजमा किशोरीप्रति गरिने ब्यवहारमा परिर्वतन ल्याउनु पर्ने बताउदै किशोरीहरुको हकहित र बिकासका लागी गाउपालिकाबाट बजेट छुटयाएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । उहाले किशोरीमाथि कुनै पनि समस्या परे आफनो मंचको सहयोगबाट गाउपालिकामा आए त्यसको समाधान गर्ने बिश्वास समेत दिलाउनु भएको छ । अध्यक्ष श्रीवास्तवले किशोरी अधिकार मंच रुपन्देहीले सक्रिय रुपमा काम गर्दै आएको प्रति धन्यबाद समेत दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथी सम्मरीमाई गाउपालिका उपाध्यक्ष कुमारी प्रियंका शाही सिंहले समाजमा किशोरी देखि महिलालाई समेत पछि पार्न खोजिएकोले महिला र किशोरीहरु चाहेर पनि अघि आउन नसकेको बताउनु भएको छ । पछिल्लो समय महिलाहरु धेरै अगाडी आइसकेको बताउदै उहाले अब छोरी प्रति सोच परिर्वतन गर्नुपर्ने जोड दिनु भयो । उहाले समाजमा महिला मात्र पिडित नभइ कहिकतै पुरुष पनि महिला बाट पिडित भएकोले यसमा परिर्वतन ल्याउन जरुरी रहेको बताउनु भयो । उहाले समाजमा छोरी प्रति गरिने बिभेदको अन्त्य गर्नुपर्ने बताउदै किशोरीहरुको हकहितका लागी पालिकाबाट समन्वय गरी काम गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।


कार्यक्रममा बालबिवाहको बिरुद्धमा बालबिवाह गर्दैन, बालबिवाह गरेको देखेमा प्रतिकार गर्छु , बालबिवाहको बिषयमा म नेतृत्व लिन्छु भनेर कार्यक्रममा सहभागीहरुले प्रतिबद्धता गर्दै ब्यानर हस्ताक्षर गरेका छन । कार्यक्रममा किशोरी अधिकार मंच रुपन्देहीले ११ बुंदे माग सहित बालबिवाह बिरुद्धमा सम्मरीमाई गाउपालिका अध्यक्षलाई ध्यानाकर्षणपत्र समेत बुझाएको छ । कार्यक्रममा बालबिवाह, दाइजो प्रथा,किशोरीहरुको गतिशिलता , घरेलु हिंसा लगायतको बिषयमा नाटक समेत प्रस्तुत गरीएको थियो भने सचेतनामुलक कबिता, गजल मार्फत किशोरीहरुको समस्यालाई दर्साइएको थियो ।

कार्यक्रममा अब मेरो पालो परियोजना सकिएको र परियोजना अन्र्तगतका कार्यक्रमहरु किशोरी अधिकार मंच रुपन्देहीलाई आरेकले हस्तान्तरण समेत गरेको छ । कार्यक्रममा महिला पुनस्थापना केन्द्र ओरेककी रन्जना चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा सम्मरीमाई गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष अजय कुमार गुप्त बनिया, वडा नम्बर ४ का वडाध्यक्ष दिवाकर प्रसाद दुबे , वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार यादव लगायतले बोल्दै आगामी दिनमा वडाले किशोरी अधिकार मंचलाई आर्थिक र भौतिक रुपमा सहयोग गर्ने बताउनु भएको छ ।

किशोरी अधिकार मंचकी वडास्तरीय उपाध्यक्ष प्रिती कुमारी बरईले संचालन गर्नु भएको कार्यक्रममा सम्मरीमाई गाउपालिकाका सम्पुर्ण वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु, स्वास्थ्य चौकीका इन्चार्ज, अभिभावक लगायत किशोरीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०४-१९ , समय : ११:०९:२९ , २ वर्ष अगाडि