हरि शर्मा , ५८५ पटक हेरिएको
नवलपरासी, जेठ ९
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका नवनिर्वाचित मेयर धनपद यादवले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर पहिलो निर्णय गरेका छन् । पदभार समाल्दै मेयर यादवले गतवर्ष आएको बाढीले रामग्राम नगर क्षेत्र प्रभावित बनेकाले बाढी नियन्त्रणलाई प्रमुखरुपमा राखेर काम गर्ने बचन दिए।
गत भदौमा आएको बाढीका कारण नगर क्षेत्रमा २ जनाले ज्यान गुमाएका थिए । करडौंको धनमाल बगेर नष्ट भएको थियो । झरही खोलाका कारण आएको बाढीले क्षति पुर्याएको भन्दै तटबन्धन कार्यलाई तीव्रता दिइ बाढी पस्ने संभाव्य स्थानको खोजी गरी व्यवस्थापनमा लाग्ने यादवले बताए ।
पानीको बहाब रोकिन सक्ने स्थानको पहिचान गरी सम्भाव्य बाढीको क्षतिलाई न्यूनिकरण गर्ने उपायको खोजी गरेर काम थालनी गर्न पनि यादवले कर्मचारीहरुलाई निर्देशन दिए ।
पदभार समाल्न मेयर यादवसँगै उपमेयर सम्झना चौधरी पाँच कन्याकासाथ शुभ साइत निकालेर नगरपालिका पुगिन्। बाढी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने यादवले बताइन्।उनले नगरपालिकाका अघिल्ला निर्णय र आगामी कार्यक्रमलाई सँगसँगै लगेर काम गर्ने योजना रहेको यादवले सुनाइन्।
पदभार समाल्दै उपमेयर चौधरीले जनताको चाहनाअनुसार काम गर्ने बताइन् । उनले सामान्य झगडा र अन्य विवादका घटनाहरु प्रहरी र अदालतमा जाने प्रवृत्तिलाई अन्त्य गरी न्यायिक समितिद्वारा जनतालाई न्याय दिलाउन आफू अग्रसर हुने प्रतिवद्धता जनाइन् । स्थानीय तह निर्वाचनमा मेयरमा एमाले र उपमेयरमा राप्रपाका उम्मेदवार विजयी भएका हुन् ।
प्रकाशित मिति: २०२२-०५-२३ , समय : १६:०१:४२ , ३ वर्ष अगाडि