उर्मिला यादव यात्री , ४८७ पटक हेरिएको
भैरहवा, बैशाख २
महिला सशक्तिकरण हुनका लागी महिला आत्मनिर्भर हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । जब सम्म महिला आत्मनिर्भर र सबल हुदैनन तबसम्म महिला सशक्तिकरण हुन नसक्ने उनीहरुले दाबी गरेका छन । ‘कानुनको अनभिज्ञता क्षम्य हुँदैन’ भन्ने मूल नाराका साथ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले आज भैरहवामा आयोजना गरेको महिला सशक्तिकरणको लागी कानुनी साक्षरता कार्यक्रममा बोल्ने महिलाहरुले सो कुरा बताएका हुन । समय जति सुकै परिर्वतन भए पनि अझै पनि महिला र पुरुषमा धेरै कुराको बिभेद भएको उनीहरुले गुनासो गरेका छन । उनीहरुले महिला बिभेद र सशक्तिकरणका कुराहरु बालबालिकाको पाठयक्रममा समाबेश गर्न माग समेत गरेका छन ।
यस्तै गरी कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले महिलालाई हरेक क्षेत्रमा साक्षर बनाउदै सशक्त बनाउनुपर्नेमा जोड दिनु भएको छ । सरकारले महिला सशक्तिकरणका लागी धेरै अभियान चलाए पनि महिलाहरु अझै पनि पछाडि नै रहेको उहाले बताउनु भयो । उहाले सरकारले महिला अधिकारको क्षेत्रमा दिएको आरक्षणको सदुपयोग गर्न आग्रह समेत गर्नु भएको छ ।
नगरप्रमुख खानले प्रत्येक नेपाली नागरिकले नेपालको कानुनबारे जानकारी राख्नुपर्ने बताउनु भएको छ । उहाले कानुनबारे जानकारी नहुदा गल्ती भएको भन्ने नपाइने र कानुन कसैका लागी क्षम्य नहुने भन्दै जीवनमा कानुनलाई अनुशरण गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै कानुनको अनभिज्ञता क्षम्य नहुने भएकोले वडावासीहरुलाई आफ्नो हक तथा अधिकार लगायत कानुनबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ । उहाले नेपालको कानुनको परिधिमा रहेर सबैले दिनचर्या अगाडी बढाउनुपर्ने भन्दै महिलाहरुलाई सशक्त बनाउन आफुहरु हातेमालो गरेर अघि बढ्न चाहेको बताउनु भयो । उहाले समग्र वडाबासीको क्रियाकलापमा हातेमालो गरी काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।
त्यस्तै गरी कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर पुनले समाजमा महिलाहरु अझै पनि धेरै पिडित भएकोले कानुनी बिषयमा जानकार हुनुपर्ने बताउनु भएको छ । उहाले कार्यक्रममा सिकेका कुराहरु समाजमा भएका अन्य महिलाहरुलाई पनि जानकारी गराउन आग्रह गर्नु भएको छ । उहाले महिलाहरुमा कानुनी ज्ञान आवश्यक भएकोले वडा नम्बर १३ मा पनि यस्तै कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।
कार्यक्रममा वडा नम्बर १३ को वडासदस्य निलु श्रीस, समाजसेवी नारायण प्रसाद अग्रवाल, ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयका ब्रम्मकुमारी सती, सिद्धार्थनगर नगरपालिकाको शिक्षा समिति सदस्य सलुजा रामदाम, सामाजिक अभियन्ता पुनम जैसवालले महिलाहरुमा कानुनसम्बन्धी ज्ञान हुनुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई अधिवक्ता तथा महिला तथा बालअधिकार जिल्ला संजाल रुपन्देहीका सदस्य सचिव सुनिल कुमार त्रिपाठीले महिलाहरुको कानुनी हक तथा अधिकारका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
यस्तै गरी अधिवक्ता पुष्पा लक्ष्मी श्रेष्ठले महिला सशक्तिकरणका लागी देवानी कानुनमा परिवार सम्बन्धी ब्यवस्थाहरुको बारेमा प्रशिक्षण दिनु भएको थियो । यस्तै गरी अधिवक्ता प्रदिप कुमार यादवले महिला सशक्तिकरण र यसका लागी संबिधान र कानुनमा भएका ब्यवस्थाहरुको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रम सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सिनपा ५ का वडा सदस्य प्रेम नारायण गुप्ताको स्वागत मन्तब्य रहेको कार्यक्रम संचालन वडा सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रममा सिनपा वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, ८ का वडाअध्यक्ष राजनजंग राणा, विभिन्न वडाका वडा सदस्यहरु, महिला स्वयंसेविकाहरु, सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारीहरु, मारवाडी महिला मंचका अध्यक्ष, ब्रह्माकुमारी ईश्वरी विश्वविधालयको प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि लगायत स्थानिय महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०४-१५ , समय : १८:५२:१८ , २ वर्ष अगाडि