नयाँ वर्ष २०८० को अवसरमा भैरहवामा संस्कृति रक्षा दौड , उमेश बरई प्रथम

रुपन्देही खबर , १९२  पटक हेरिएको

भैरहवा, वैशाख १

नयाँ वर्ष २०८० को अवसरमा हिन्दू स्वयंसेवक संघ नेपाल भैरहवा विभागको आयोजनामा शुक्रबार भैरहवामा संस्कृति रक्षा दौड भएको छ । धर्म संस्कृति संरक्षण गर्ने उद्देश्यले नयाँ वर्षको शुभारम्भसँगै यस वर्ष पनि संस्कृति रक्षा दौडलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक उमाशंकर पाठकले बताउनु भएको छ । उहाले दौडमा ७ सय ५० जना बढीको सहभागीता रहेको जानकारी दिनु भयो ।

मिलनचोकबाट सुरु भएको दौड नारायणपथ, बुद्धचोक, लुम्बिनी गेट, वि.पी. पथ, पिपरिहया चोक, गल्लामण्डी हुँदै पुनः मिलनचोकमा आएर समापन भएको हिन्दू स्वयंसेवक संघ नेपालका सम्भाग कार्यवाह रविकान्त उपाध्यायले बताउनु भयो ।

प्रतियोगितामा उमेश बरई प्रथम, अजय कुर्मी द्वितीय, दीपेन्द्र मौर्य तृतीय तथा सचिन कुर्मी, भरत कुर्मी, दीपक पासी, अमित कुमार केवट र कुसुम ठगुन्ना सान्त्वना भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु. ११ हजार, द्वितीयलाई रु. ५ हजार १ सय, तृतीयलाई रु. ३ हजार १ सय र सान्तवना हुनेलाई १ हजार १ सय प्रदान गरिएको पाठकले बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनजाति कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङले हिन्दू धर्म संस्कृति र पहिचानमाथि खेलवाड भइरहेकाले सचेत हुनुपर्नेमा जोड दिनु भयो । उहाले मुलुकमा धमाधम धर्म परिवर्तन भइरहेकाले यसलाई रोक्न सरकार गम्भिर हुनुपर्ने बताउनु भयो ।

हिन्दू स्वयंसेवक संघ नेपाल रुपन्देही जिल्ला संघचालक गोकुल पोखरेलले धर्म संस्कृति संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । भने दुर्गा प्रसाद कान्दुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पुरस्कार सौजन्य गर्ने व्यक्तिहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।

 

प्रकाशित मिति: २०२३-०४-१४ , समय : १५:३१:१२ , २ वर्ष अगाडि