रुपन्देही खबर , ३०३ पटक हेरिएको
भैरहवा, चैत २५
सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ माथि ८ विकेटको जीत निकाल्दै उसले उपाधि चुम्न सफल भएको हो । आजै भएको सेमीफाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर ८ लाई १३ रनले पराजित गर्दै र वडा नम्बर ६ ले वडा नम्बर २ लाई ५ रनले पराजित गर्दै फाइनल पुगेका थिए ।
जीतसँगै वडा नम्बर ६ ले नगद ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको वडा नम्बर ३ ले २५ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त पारेको छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको नोक्सानीमा ६० रनको समान्य योगफल बनायो । उसका लागि आषिश रोकाले १६ र अरमान मल्लिकले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन् । बलिङमा वडा नम्बर ६ का सुरज गुरुङ, प्रवेश अन्सारी र इकलाख वारिसले समान २–२ विकेट लिए ।
प्रतिउत्तरमा ६१ रनको झिनो लक्ष्य पछ्याएको वडा नम्बर ६ ले ९.४ ओभरमा २ विकेटको क्षतिमा ६६ रन बनाउँदै लक्ष्य पूरा गर्याे र मेयर कपको उपाधि चुम्न सफल भयो । उसको जितमा प्रवेश अन्सारीले २७, अर्जुन चौधरीले नटआउट २१ र अकबर अलीले नटआउट ९ रनको योगदान दिए । बलिङमा वडा नम्बर ३ का अर्जुन चौहान र मैनउद्दिन शेषले समान १–१ विकेट लिए । खेलमा वडा नम्बर ६ का प्रवेश अन्सारी म्यान अफ द फाइनल घोषित भए । उनले १ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा वडा नम्बर ६ का सुरज गुरुङ म्यान अफ द सिरिज भइ ११ हजारसहित ट्रफी र मेडल पाए भने वडा नम्बर ८ का सुमन अधिकारी उत्कृष्ट बलर हुँदा वडा नम्बर ३ का सुजन न्यौपाने उत्कृष्ट ब्याट्सम्यान बने । उनीहरु दुवैजनाले जनही ५ हजार १ सयका दरले नगदसहित ट्रफी र मेडल पाए ।
विजेता र उपविजेता खेलाडीहरुलाई जिल्ला समन्वय समिति, रुपन्देहीका सभापति उमाकान्त चापागाईं, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, वडाअध्यक्षहरु लगायतले पुरस्कार प्रदान गरेका थिए । स्थानीयस्तरबाट नयाँ–नयाँ खेलाडी उत्पादन गर्न टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०४-०८ , समय : २२:१२:३४ , २ वर्ष अगाडि