उर्मिला यादव यात्री , ३७८ पटक हेरिएको
भैरहवा, चैत २३
पछिल्लो समय कोरोना संक्रमितको संख्यामा बृद्धि हुन थालेपछि जिल्ला संकट ब्यवस्थापन समिती रुपन्देहीले सिमानाकाको चेकजाचमा कडाइ गर्ने निर्णय गरेको छ । आज भैरहवामा बसेको जिल्ला संकट ब्यवस्थापन समिती रुपन्देहीको बैठकले बेलहिया नाका लगायत रुपन्देहीको हरेक स्थानिय नाकामा कडाइका साथ चेकजाच गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय भारतबाट नेपाल भित्रिने नागरिकमा कोरोना संक्रमणको पुष्टि हुन थालेपछि कोरोना संक्रमणको नियन्त्रण र रोकथामको लागी सिमा क्षेत्रमा नियमित चेकजाचको दायरालाई बढाउने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनु भयो । उहाले कामको सिलसिलामा भारतमा लामो समय देखि बस्दै आएका नेपाली र भारतिय पर्यटकलाई लक्षित गर्दै सिमानाकामा चेकजाचको दायरालाई बढाउने निर्णय गरीएको जानकारी दिनु भयो । नाकामा आउने पर्यटकहरु देखि लिएर सबैमा कोरोनाको भ्याक्सिन लगाएको वा नलगाएको सो को पत्ता लगाइ कोरोना पुष्टि भएका नागरिकहरुलाई सुरक्षित तरिकाबाट गन्तब्य स्थानसम्म पुरयाउन वा आइसोलेसनमा राख्ने निर्णय गरीएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले बिगतमा कोरोनाबाट धेरै मानबिय क्षति भएकोले यसको पुर्व तयारी सबै स्थानियतहले गर्नूपर्ने जोड दिनु भयो । उहाले रुपन्देहीका हरेक स्थानिय तहलाई आ आफनो सिमानाकामा हेल्पडेस्क स्थापना गर्न आग्रह गर्नु भएको छ । उहाले कोभिड १९ को संक्रमण बढन नदिन अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नु भएको छ ।
उहाले हरेक स्थानिय तहमा खोपको ब्यवस्थापन गर्न आग्रह गर्दै यसबारेमा थप निर्णय गरेर खोपको दायरालाई बिस्तृत रुपमा अगाडी बढाउने बताउनु भयो ।
यस्तै गरी स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले कोरोना संक्रमितहरु बढदै गएकोले रुपन्देहीको मुख्य नाकाको रुपमा रहेको बेलहिया नाकामा नियमित चेकजाचको दायरालाई बढाइएको बताउनु भयो । उहाले हेल्प डेस्कमा स्वास्थ्य परीक्षण गर्ने र कोरोना संक्रमित पुष्टि भए सुरक्षित ढंगले घर सम्म र लक्षित ठाउ सम्म पुरयाउने गरिएको बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले कोरोना संक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ सो बारेमा छलफल गरी समाधानका उपाय तर्फ जनसमुदायमा जनचेतना हुन आवश्यक भएको बताएका थिए । छलफल बैठकमा रुपन्देहीका स्थानिय तहका प्रमुख , उपप्रमुख , अध्यक्ष , उपाध्यक्ष , स्वास्थ्य कार्यालयका प्रमुख , जिल्ला प्रहरी प्रमुख, जिल्ला समन्वय समितीको पदाधिकारी , लगायत सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०४-०६ , समय : २२:५१:१५ , २ वर्ष अगाडि