रुपन्देही खबर , ३१० पटक हेरिएको
भैरहवा, चैत १६
तीन दिने फोटो पत्रकारीता तालिम आजदेखी भैरहवामा सुरु भएको छ । रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सहकार्यमा मायादेवी गाउँपालिका–८ लुम्बिनीरोड स्थित लुम्बिनी प्रेस क्लबको भवनमा सुरु भएको हो ।
क्लबका सदस्यहरुको क्षमता अभिवृद्धि अन्तर्गत तालिम सञ्चालन गरिएको क्लबकी तालिम समिति संयोजक उषा केसीले बताउनु भयो । तालिमको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाले लुम्बिनी प्रेस क्लबसँग आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो ।
क्लबकी अध्यक्ष सम्झना शर्माले क्लबमा आबद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि रोहिणी गाउँपालिकाको सहयोग महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाले आगामी २०८० मंसिरमा क्लबले लुम्बिनी न्यूज फेस्टिभलको दोश्रो श्रृंखला आयोजना गर्न लागेको जानकारी दिनु भयो । यसका लागि पनि स्थानिय तहहरुको सहयोगले अगाडी बढने शर्माले बताउनु भयो ।
क्लबका सदस्य तथा प्रशिक्षक दीपेन्द्र बडुवालले क्लबले स्थापनाकालदेखि नै आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्दै आएको बताउनु भयो । उहाले रोहिणी गाउँपालिकाले हौसला प्रदान गरेको बताउनु भयो । लुम्बिनी न्यूज फेस्टिबल कार्यक्रमको संयोजक समेत रहेका बडुवालले कार्यक्रमलाई सफल बनाउनुपर्नेमा जोड दिनु भयो ।
क्लबकी अध्यक्ष सम्झना शर्माको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, क्लबकी तालिम समिति संयोजक उषा के.सी.को स्वागत तथा महासचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिम चैत १८ गतेसम्म सञ्चालन हुने क्लबका कोषाध्यक्ष राधेश्याम विश्वकर्माले बताउनु भयो । तालिमको कान्तिपुर दैनिकका लुम्बिनी प्रदेश प्रमुख दीपेन्द्र बडुवाल र नेपाल टेलिभिजनका रुपन्देही संवाददाता दीपक घिमिरेले सहजीकरण गरेका छन् । क्लबमा ३९ जना सदस्य आबद्ध छन् ।
प्रकाशित मिति: २०२३-०३-३० , समय : २२:०८:१८ , २ वर्ष अगाडि