उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

रुपन्देही खबर , २२३  पटक हेरिएको

काठमाडौँ, चैत ३

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।

यस्तै निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्‌तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । जनमतबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरेको राष्ट्रपति(उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा(२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : २०:१८:२६ , २ वर्ष अगाडि