रामु भुसाल , २५९ पटक हेरिएको
बर्दघाट, माघ २५
‘उत्कृष्ट तथा नमूना’ नगरपालिका बनाउन भन्दै २०७९ पौष १३ गते शुरु भएको बर्दघाट नगरपालिकाको ११ औं नगरसभा अझै समापन हुन सकेको छैन् । हिउँदें नगरसभाका रुपले परिचित नगरसभा उदघाट्न भएको ४२ औं दिन पुगिसक्दाँ समेत आवश्यक छलफल गरेर निर्णय हुन नसकेको हो ।
नगरसभाको प्रतिनिधिसभा सदस्य तथा एमाले नेतृ सरिता भुसाल खनालले पौष १३ गते उद्घाटन गर्नुभएको थियो । चालु आर्थिक बर्षको उक्त दोस्रो नगरसभामा बिभिन्न ८ वटा प्रस्तावहरु दर्ज गरिएको थियो । पौष महिना सकिएर माघको अन्तिम साता शुरु भईसक्दा पनि सरोकारवालाको तदारुकता नहुदाँ सभामा गर्नुपर्ने निर्णयहरु अलपत्र पर्दै आएको छ ।
जिल्लाका सातैपालिकाले सभा सकेर योजना सम्झौताका कामहरु गरिरहेका छन् । नगर प्रमुख शम्भुलाल श्रेष्ठले बिभिन्न सार्वजनिक कार्यक्रममा नगरका योजनाहरु चैत्र मसान्तभित्र समापन गरेर बाँकी समय आगामी आर्थिक बर्षको योजना निर्माणमा केन्द्रित हुने उदघोष गर्दै आउनुभएको थियो । नगरसभा सम्पन्न गर्न भएको ढिलाईले नगर प्रमुख श्रेष्ठका गरेको आफ्नै प्रतिबद्धताको पूरा नहुने देखिएको छ ।
नगर सभाले संशोधनको निर्णय गर्नुपर्ने बिभिन्न विकासका योजनाहरु नगरसभा सम्पन्न गर्न भएको ढिलाईले गर्दा प्रभावित हुदै गएका छन् ।
शिर्षकान्तर र रकमान्तर गर्ने योजनाहरुमा नगर सभाको ढिलाईको असर पर्दै आएको हो ।
जनप्रतिनिधिहरु मुख्य गरेर नगर प्रमुख उपप्रमुख लगायतले नगरसभा भन्दा बिभिन्न संघसंस्थाका कार्यक्रममा ब्यस्त हुदाँ नगरसभामा छलफलद्वारा टुंगो लगाउनुपर्ने बिषयले स्थान पाउन छाडेको नसकेको स्थानीयको गुनासो छ ।
सभामा चालु आ.व. ०७९÷०८० को नीति, कार्यक्रम तथा बजेटका शीर्षकान्तर र रकमान्तरका विषय समाबेश थियो । स्रोतका अनुसार नगर प्रमुख शम्भुलाल श्रेष्ठले सभामा संशोधन गर्ने बजेट भन्दा धेरैमा तोक लगाउने गरेका कारण नगरसभामा कठिनाई हुदै गएको छ । करिब एक करोड ३७ लाख रुपैया जति संशोधन गर्नुपर्ने रकम होला –उक्त स्रोतले भन्यो– मेयर साबले घुईघुईती तोक लगाएको रकम निकै बढी छ । त्यसले समस्या पार्दै आएको छ । नगर प्रमुख श्रेष्ठले करिब २ करोडको तोक लगाएको उक्त स्रोतको दावी छ ।
नगर प्रमुख श्रेष्ठले जसले जस्तो योजना ल्याएपनि प्रमुख प्रशासकीय अधिकृत लेखेर पठाउने गरेका कारण समस्या परेको हुन सक्ने एक सेवाग्राहीले जानकारी दिए । फाईल आयो कि प्रप्रअ लेखेर पठाई हाल्नु हुन्छ– ती सेवाग्राहीले भने – योजना छ छैन आवश्यक हो होइन् । उहाँले मतलब गरेको जस्तो लाग्दैन । उहाँले तोक लगाए पनि हामी जस्ता मान्छेको कामै पनि हुदैन् ।
नगर प्रमुखले बोल्ड डिसिजन नदिदाँ योजना मागका फाईलहरु शाखाहरुमा महिनौं अलपत्र पर्ने गरेको ती सेवाग्राहीको भनाई छ । नगर सभामा खोला सरसफाईको गतबर्षको भुक्तानी, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०७९ सम्बन्धमा, विभिन्न समयका बैठकका निर्णय अनुमोदन सम्बन्धमा, कर्मचारीको संगठन, संरचना र अनुमोदन सम्बन्धमा, भु–उपयोग योजना निर्माणको प्रतिवेदन अनुमोदन लगायतका प्रस्ताव समाबेश छ । लगतै शिक्षा ऐन संशोधन बारे समेत आन्तरिक कोठे छलफलहरु भएका छन् । संबिधानको धारा २२३ को उपधारा (१) बमोजिम हरेक नगरपालिकाले नगरसभा गर्नुपर्ने प्रावधान रही आएको छ ।
अधिबक्ता रामकृष्ण पौडेलले हिउदें नगरसभा संचालनको समय सीमा बारे ऐनमा छुट्टै ब्यवस्था नभएपनि सभा शुरु भएको एक महिनाभित्र समापन गर्ने प्राक्टिस रहेको जानकारी दिनुभयो ।
उहाँले बर्दघाट नगरपालिकाको नगर सभा बारे आफू स्थानीय बासिन्दा समेत भएको कारण जनप्रतिनिधिसंग चाँसो राखेको बताउनुभयो । मैले नगर सभाबारे चाँसो पनि लिएको थिएँ–उहाँले भन्नुभयो –आन्तरिक तयारीमा छौ भन्ने आयो ।
नगरसभामा भएको ढिलाई जिज्ञाशा राख्दाँ नगर प्रमुख श्रेष्ठले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी भएर आएलगतै नगरसभा समापन हुने दावी गर्नुभयो । अँ ढिला भएको छ –उहाँले थप प्रतिक्रिया दिदै भन्नुभयो–आज भोट हाल्न जाने तयारी छ । आए लगतै गर्ने हो ।
प्रकाशित मिति: २०२३-०२-०८ , समय : २०:५५:४० , २ वर्ष अगाडि