होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी सम्पन्न

व्यवसायिक हकहितका लागि एकजुट हुनुपर्नेमा जोड

रुपन्देही खबर , २४९  पटक हेरिएको

भैरहवा, माघ ५

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी मंगलबार र बुधबार कपिलवस्तुमा सम्पन्न भएको छ । वाणगंगा नगरपालिका–३ राजापानीस्थित होटल थ्री एस प्रा.लि.मा भएको गोष्ठी (बैठक) ले वार्षिक कार्ययोजना (कार्यक्रमहरु) तय गरेको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताए । वार्षिक कार्ययोजनाहरु सम्पन्न गर्न जिम्मेवारी समेत तोकिएको न्यौपानेले जानकारी दिए ।

बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित सञ्चालनका लागि दबाब दिन अन्तरक्रिया तथा डेलिगेशन, सिद्धार्थ सडक खाना महोत्सव–२०८० गर्ने, व्यवसायिक दर्ता तथा नविकरणमा विशेष पहल गरी नयाँ दर्ता तथा नविकरणलाई प्राथमिकता, अन्य विभिन्न संघ–संस्थाहरुद्वारा गरिने पर्यटन प्रवद्र्धनका भेला गोष्ठीहरुमा व्यवसायिक एवं संगठनको प्रतिनिधित्व, संगठनका पदाधिकारीहरुलाई सीप विकास तथा नेतृत्व विकास तालिमको आयोजना, होटल तथा रेष्टुरेण्टको स्तर निर्धारण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको समन्वयमा खाद्य शुद्धता तालिम र व्यवसायिकको अनुगमन गरी स्तर निर्धारण, नयाँ वर्ष २०८० सालको क्यालेण्डर प्रकाशन, संगठनको साँस्कृतिक कार्यक्रम एवं आर्थिक अवस्थालाई सबल बनाउनका लागि देउसी भैलोको आयोजना गर्ने, चाडपर्वलाई लक्षित गरी संस्कृति संरक्षण गर्ने उद्देश्यअनुरुप साँस्कृतिक कार्यक्रम, दशैं, दीपावली तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान, लुम्बिनी होटल संघसँग संयक्त अन्तरक्रिया र मदिरा व्यवसायी संघसँगको व्यवसायिक हितका लागि अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

त्यस्तै उद्योग व्यापार संगठन, रुपन्देही/सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीबाट सञ्चालित पर्यटनसम्बन्धी कार्यक्रममा अधिकतम सहभागी हुने, विभिन्न इकाई तथा उपसमितिको गठन गरी क्षेत्रगत सहभागीता वृद्धि, होटल व्यवसायीहरुको गुनासो तथा समस्याहरुबारे छलफल गर्ने सम्बन्धित निकायहरुसँग पहल तथा पत्राचार एवं डेलिगेशन, अभिमुखीकरण तालिम, बेलहिया नाका र सिद्धार्थनगर नगरपालिका बजारभित्र रहेको ट्राफिक जाम, अव्यवस्थित पार्किङ, ठेला व्यवस्थापन गरी यस क्षेत्रको सुन्दरीकरण बढाउन स्थानीय सरकार, ट्राफिक प्रहरी कार्यालय र अन्य निकायहरुसँग छलफल गरी संस्थाको अगुवाइमा पहल, प्रत्येक होटलमा मेनु र कर्मचारी परिचयपत्रलाई अनिवार्य गर्ने, रात्रीकालीन होटल रेष्टुरेण्ट व्यवसाय सञ्चालन गर्न समन्वय तथा होटलहरुमा विभिन्न किसिमका हिंसा, चोरी, असुरक्षा र होटल व्यवसायी र ग्राहकबीच हुने असमझदारी भएको अवस्थामा गुनासो सुनी सम्बन्धीत निकायमा छलफल गरी समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।

त्यसै गरी संगठनले लागू गरेको व्यवसायिक राहत कोषको रकममा थप वृद्धिका लागि विभिन्न किसिमका आर्थिक उर्पाजनका लागि पहल, दक्ष जनशक्ति उत्पादन र वैदेशिक रोजगारीबाट रोक्न कुक तथा वेटर हाउसकिपिङ लगायत तालिम व्यवस्थापनको लागि सम्बन्धित निकायबाट पहल, धार्मिक, भौगोलिक, साँस्कृतिक र पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न निकायहरुसँग छलफल तथा अन्तरक्रिया, कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसायलाई उकास्नका लागि सल्लाहकारहरुसँग परामर्श लिइ पर्यटनसम्बन्धी विज्ञहरुसग आन्तरिक पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँग छलफल तथा अन्तरक्रिया, पर्यटकीय गाईड र पर्यटकीय स्थलको जानकारीका लागि दक्ष जनशक्ति उत्पादन, सम्बन्धित निकायसम्म पहल गर्नुका साथै बेलहिया र लुम्बिनी क्षेत्रभित्र आउने भारतीय पर्यटकलाई लक्षित गर्दै सूचना केन्द्र स्थापना, पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले बुद्ध सर्किटका लागि टुरिस्ट प्याकेज तयार गरी यस क्षेत्रमा कोभिडका कारण धरासायी भएका होटल व्यवसाय सञ्चालनमा पहल, संगठनको आफ्नै वेभसभाइट बनाइ आन्तरिक पर्यटकीय स्थलहरुको पहिचान दिने र यहाँका स्थानीय गतिविधि प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।

त्यसै गरी साधारणसभा तथा वार्षिक कार्ययोजनाबाट तोकिएको कार्य र विगतमा गरिएको कार्यलाई पनि निरन्तरता दिए/नदिएको अनुगमन तथा मुल्यांकन, सामाजिक उत्तरदायित्वका कार्यक्रम, अतिथि देवा भवः भन्ने भावसँगै होटल व्यवसायीहरुले होटल सञ्चालनमा ग्राहक र पर्यटनसँग हस्पिटालाटी मेनटेन (आतिथ्यता कायम) हुनुपर्ने र त्यसका लागि नाटा र पर्यटन कार्यालयसँग समन्वय गरी संगठनको भूमिकालाई प्रभावकारी बनाउने, सि.न.पा. हाइवे क्षेत्रभित्र उज्यालो भैरहवा बनाउने उद्देश्य लिइ विद्युत प्राधिकरण र स्थानीय सरकारसँग समन्वय, प्लाष्टिकमुक्त शहरको अवधारणा विकासका लागि होटलबाटै सुरुवात पहल र अनुगमन, प्रमोशन तथा प्रचारप्रसारका लागि नाट्टासँग समन्वय गरी पर्यटन गाईड र संचार जगतसँग अन्तरक्रिया र सम्पूर्ण स्पा सेन्टरलाई व्यवसायिक आचारसंहितामा रहेर सञ्चालनमा ल्याउनका लागि पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा संगठनका कोषाध्यक्ष नरेन्द्र खनालले २०७९ साउनदेखि पुससम्मको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले होटल व्यवसायीले विभिन्न खालका कठिनाइको सामना गर्नुपरेको बताए । उनले होटल व्यवसायीका समस्या समाधान गर्न एकजुट हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष समेत रहेका ज्ञवालीले भने, ‘भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा अन्तर्राष्टिय उडान रोकिएको छ, लुम्बिनीका विद्युतीय बस सञ्चालन हुन सकेका छैनन्, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले कोभिडको असर अहिले अर्थतन्त्रमा परिरहेको बताए । उनले होटल व्यवसायीले पर्यटकको सेवासुविधामा ध्यान दिनुपर्नेमा जोेड दिए । उनले भने,उनले होटल व्यवसाय मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्छ ।’

लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघका कोषाध्यक्ष गोविन्द ज्ञवालीले व्यवसायी संगठित हुनुपर्ने बताए । उनले होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनको वार्षिक कार्ययोजनामा राम्रा तथा महत्वपूर्ण विषय समेटिएकाले यसलाई सफल बनाउन आग्रह गरे ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष तथा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका सल्लाहकार सागर अधिकारीले पर्यटन क्षेत्रमा अफ्ठयारो अवस्थामा रहेको बताए । 
मदिरा व्यवसायी सगठन भैरहवाका अध्यक्ष तथा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका सल्लाहकार केशवराज ज्ञवालीले मदिरा र होटल व्यवसायीबीच नङ र मासुको जस्तै सम्बन्ध रहेकाले विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा पनि गर्न सकिने बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका पूर्वअध्यक्ष तथा उद्योग व्यापार संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले पर्यटन व्यवसाय थला परेको बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष राम प्रसाद पोख्रेलको स्वागत तथा महासचिव राजेश महोत्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०६९ सालमा स्थापना भएको संगठनमा हाल ३ सय बढी सदस्य आबद्ध रहेको सचिव बाल बहादुर घिमिरे (सुनिल)ले बताए ।

प्रकाशित मिति: २०२३-०१-१९ , समय : १४:४६:४५ , २ वर्ष अगाडि