रुपन्देहीको बुटवल औद्योगिक मेलामा दर्शकको चाप बढ्यो

रुपन्देही खबर , ४०९  पटक हेरिएको

बुटवल, पुस १६

रुपन्देही उद्योग संघको आयोजनामा स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ पुष ७ गतेदेखि संचालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा शुक्रवार प्रदर्शनी स्थलमा दर्शकहरुको ओइरो लाग्न पुग्यो । सार्वजनिक विदा तमु ल्हेसार परेका कारण दर्शकहरुको भिड अत्याधिक भएको थियो । प्रदर्शनी सचिवालयले दिएको जानकारी अनुसार शुक्रबार एकै दिन प्रदर्शनी अवलोकन गर्न करीब १ लाख दर्शक मण्डपमा प्रवेश गरेको अनुमान गरिएको छ । प्रदर्शनी अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट लिन सहज होस भन्दै आयोजकको तर्फबाट टिकट काउन्टर बाहिर प्रदर्शनी गेटमा थप नयाँ काउन्टर स्थापना गरी टिकट विक्री गरिएको थियो ।

प्रदर्शनी हेर्न अवलोकनकर्ताहरु विहान दश वजेदेखि टिकट काउन्टरमा लाइनमा बसेका थिए । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज रुपमा प्रदर्शनी स्थलमा छिर्न मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका संयोजक तथा सदस्यहरु सक्रिय भएका थिए । प्रदर्शनी अवलोकन गर्न भिड बढ्ने अनुमान गर्दै पूर्व आवश्यक तयारी गरिएको थियो । दर्शकहरुको उपस्थितिले आयोजना पूर्ण सफलतातर्फ अगाडि बढेको विश्वास व्यक्त गर्दै मुल समितिका संयोजक माधव प्रसाद पौडेलले आफुहरुलाई उत्साहित बनाएको बताउनु भएको छ । उहाले उद्योग संघको प्रदर्शनी सधै ऐतिहासिक बन्ने गरेको जिकिर गर्दै यस पटकको प्रदर्शनी पनि उचाईमा पुगेको दावी गर्नु भएको छ ।

प्रदर्शनी हेर्न आएका दर्शकहरुको भिड अत्याधिक बढेपछि टिकट काउण्टर बढाएर टिकट विक्री गरी सहजता प्रदान गरेको प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले बताउनु भएको छ । यस पटक मण्डपमा एकै पटक ५० हजार दर्शक रहन सक्ने क्षमता भएका कारण व्यवस्थापन सहज भएको थियो । मण्डप भित्रका दर्शकहरुलाई बाहिर निस्कनका लागि २ वटा छुट्टै निकासको व्यवस्था गरिएको थियो । दर्शकहरुको भिडका कारण बुटवल मण्डप पुरै भरिएको थियो । गेटबाट अवलोकनका लागि छिरेका दर्शकहरु स्टल हुँदै मञ्च रहेको खाली मैदानमा र बाल मनोरञ्जन क्षेत्रमा पुगेका थिए ।

प्रदर्शनी मुल आयोजक समितिका सदस्य सचिव हरिबहादुर खत्रीका अनुसार शुक्रबार प्रदर्शनीमा उर्लेको दर्शकहरुको भिडले प्रदर्शनीको जननी रुपन्देही उद्योग संघलाई दर्शकहरुको अपार मायाले कामका लागि हौसला थपेको बताउनु भएको छ । खत्रीले प्रदर्शनी अवलोकन गर्न आउने दर्शकहरुलाई सकेसम्म कुनै प्रकारको समस्या नपरोस भन्ने कुरामा ध्यान दिएको र कुनै पनि प्रकारको दुर्घटना नभएको भन्दै खुशी व्यक्त गरे । उनका अनुसार शुक्रवार करिव २ करोडको आर्थिक कारोवार भएको अनुमान गरिएको छ ।

सुरक्षा व्यवस्था समितिका संयोजक युवराज आचार्यले प्रदर्शनीमा भिड बढेपछि सुरक्षाको पाटो निकै गम्भिर बन्ने हुदा त्यसमा आफुहरुले निकै सचेत र चनाखो भएर काम गरेका कारण कुनै अप्रिय एवं मानविय तथा भौतिक क्षतिका घटना नभएको बताउनु भएको छ । उहाले सुरक्षा व्यवस्था कायम गर्न प्रदर्शनीमा खटी सहयोग पु¥याएकोमा सुरक्षा निकायका सबै प्रति आभार पनि व्यक्त गर्नु भएको छ । यसैबीच प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगतका केही प्रतियोगिताहरुको छनौट चरण अन्तिममा पुगेका छन् भने केहीका अन्तिम नतिजा सकिएका छन् । प्रदर्शनीमा राखिएको दोहोरी गित प्रतियोगिताको फाइनल सम्पन्न भएको छ । फाइनलमा दरबार रोधी क्लव काठमाडौं र खस्यौली रोधी क्लव बुटवल वीच प्रतिस्पर्धा भएको थियो, जसमा दरबार रोधी क्लव काठमाडौं विजेता बन्न सफल भयो ।
विजेताले नगद ७५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ भने उपविजेताले खस्यौली रोधी क्लव बुटवलले ३७ हजार ५ सय ५५ र तृतीय राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीले १९ हजार ५५ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी प्रदेशले १९ हजार ५५ रुपैया नगद प्राप्त गरेका छन् । विजेता टिमलाई प्रदर्शनी मुल समितिका संयोजक माधव प्रसाद पौडेलले पुरस्कार प्रदान गर्नु भएको छ ।

यसैगरी प्रदर्शनी आइडल–२०७९ प्रतियोगिता अन्तरगत अन्तिम टप ५ गायकको प्रस्तुती भएको छ । शनिवार प्रतियोगितामा टप ४ को प्रस्तुति हुने छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत शुक्रवार लोकदोहोरी गायक खुमन अधिकारी, गायिका शान्तिरानी परियार, एन्जिला रेग्मी, गायक रविन लामिछाने, प्रिन्स मल्ल लगायत कलाकारहरुको प्रस्तुति रहेको थियो भने शनिवार लोकदोहोरी गायक खेम सेन्चुरी, लोकदोहोरी गायिका मन्जु पौडेल, अस्मिता डल्लाकोटी, गायक मानसिंह खड्का, नृत्य प्रशिद्धी ढकाल, लगायतको प्रस्तुती रहने छ भने उद्घोषण नारायण खनाल लेकाली, गोपाल अधिकारी, आविष्कार खनालको रहनेछ ।आज शनिबार पनि बिदाको दिन भएकाले दर्शक उपभोक्ताको उल्लेख्य सहभागिता रहने आयोजकले विश्वास लिएका छन् ।

प्रकाशित मिति: २०२२-१२-३१ , समय : ०९:४४:४४ , २ वर्ष अगाडि