रुपन्देही खबर , ३१८ पटक हेरिएको
कपिलवस्तु, पुस ५
थारु कल्याणकारिणी सभा, थरुहट थारुवान संयुक्त सघर्ष समिति कपिलवस्तुले अध्यादेश प्रमाणीकरणको माग गर्दै रयाली सहित कोणसभा गरेको छ । थारु कल्याणकारिणी सभा केन्द्रीय सदस्य सुमित्रा थारुले सरकारसँग गरिएको ६ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गर्नु भएको छ ।
जिल्ला शिवराज नगरपालिका वडा नम्वर ५ मा मंगलबार चन्द्रौटामा आयोजित कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाले ६ बुँदे मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनु भएको छ । टिकापुर हिंसात्मक घटना नियोजित तरिकाले घटाइएको बताउँदै निर्दाेष रेशम चौधरी लगायत अन्य जेल सजाय काटिरहेका बन्दीलाई सरकारले अबिलम्ब बिना शर्त रिहा गर्नुपर्ने बताउनु भएको छ ।
यसैबीच थारु समुदायले पनि आफ्नो पहिचान संरक्षण र हक अधिकारका लागि लड्ने अधिकार भएकोले सरकारले वञ्चित गर्न नपाउने समेत थारुले जिकिर गर्नु भएको छ । अहिलेको सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमतिलाई निरन्तरता दिने बताउनु भएको छ । यथाशीघ्र यो अध्यादेश राष्ट्रपतिबाट प्रमाणिकरणको उहाले माग गर्दै टिकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत सरकार समक्ष माग गरेको सदस्य थारुले उल्लेख गर्नु भएको छ ।
कोणसभामा बोल्दै थारु कल्याणकारिणी युवा सभाका केन्द्रीय सदस्य श्रीनिवास थारुले अध्यादेश राष्ट्रपतिबाट जस्ताको त्यस्तै यथाशाक्य चाँडो प्रमाणिकरण गरिनुपर्ने माग गर्नु भएको छ । २०७२ भदौ ७ गते भएको रहस्यमयी दुःखद टिकापुर घटनाको झुटा मुद्दा लगाइएका थारु नेता तथा कार्यकर्ताहरुको मुद्दा फिर्ता एवंम बन्दीहरुलाई अविलम्ब रिहाइ गर्नुपर्ने थारुले बताउनु भएको छ । अधिकार प्राप्तको आन्दोलनको क्रममा थुप्रै थारुहरु निर्दोष हुँदा पनि जेल जीवन बिताउन बाध्य बनाइएको बताउँदै राजनीतिक मुद्दा भएकोले राजनीतिक तवरले समाधान गर्न उहाले आग्रह समेत गर्नु भएको छ ।
आफूहरुको माग कार्यान्वयन नभए सशक्त आन्दोलन गर्न बाध्य हुने संघर्ष समितिले चेतावनी दिएको छ । रयालीमा अध्यादेश प्रमाणीकरण गर, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर, मानवताको अधिकार हाम्रो पनि बराबर, टिकापुर राजबन्दीहरुलाई निशर्त रिहा गर, हामीलाई क्षमा होइन न्याय चाहिन्छ लगायत नारा समेत लगाएका थिए ।
थारु कल्याणकारिणीसभा कपिलवस्तुका अध्यक्ष उमाशंकर थारु, थारु कल्याणकारिणी सभा बाणगंगा नगर कमिटीका अध्यक्ष भग्गु प्रसाद थारु, जिल्ला सचिव जगत बहादुर थारु लगायतले कोणसभा लाई सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: २०२२-१२-२० , समय : १८:५४:०९ , २ वर्ष अगाडि