रुपन्देहीको भैरहवामा आजदेखि आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ सुरु

रुपन्देही खबर , ३७५  पटक हेरिएको

भैरहवा, मंसिर २३

रुपन्देहीको भैरहवामा आज देखि आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ सुरु भएको छ । पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला भन्ने मुल नाराको साथ सुरु भएको मेलाको
नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालका उद्योगी व्यवसायीले व्यहोर्नुपरेको आर्थिक मन्दीको समस्यालाई सम्बोधन गर्न प्रधानमन्त्रीबाट प्रतिवद्धता व्यक्त भएको बताउनु भएको छ । उहाले राज्यको मेरुदण्डका रुपमा रहेका उद्योगी व्यवसायीले व्यहोर्नुपरेका समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताउदै अब बन्ने सरकारले नेपालका उद्योगी व्यवसायीले व्यहोर्नुपरेका समस्या समाधानका लागि गम्भिरतापूर्वक अघि बढ्ने बताउनु भयो ।

उहाले आफू प्रतिनिधिसभामा नभए पनि रुपन्देहीको विकासका लागि आफु निरन्तर अगाडि बढ्ने बताउनु भएको छ । गृहमन्त्री खाँणले नेपालमा रात्रीकालिन बजारको खासै प्रचलन नभए पनि पर्यटन व्यवसायको प्रवर्द्धनका लागि २४ घण्टा बजार सञ्चालनको अवधारणा ल्याइएको बताउनु भएको छ। उहाले अनुमति लिएर तोकिएको मापदण्ड पूरा गरेपछि २४ सैं घण्टा व्यवसाय सञ्चालन गर्न पाइने बताउनु भयो । खाँणले रुपन्देहीमा हालसम्म १० वटा रेष्टुरेण्टले २४ घण्टा व्यवसाय सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको बताउनु भएको छ । उहाले मेला महोत्सवका निम्ति मण्डप निर्माणका लागि आवश्यक जग्गा खोजीका लागि सिद्धार्थनगर नगरपालिकालाई आग्रह गर्दै मण्डप निर्माणका लागि केन्द्रीय सरकारले बजेट व्यवस्थापन गर्ने बताउनु भएको छ उहाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आम नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी सरकार अघि बढ्ने बताउनु भयो । 

त्यस्तै गरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मुलुकको समृद्धिका लागि पर्यटन, कृषि र उद्योगको विकास आवश्यक रहेकोमा जोड दिनु भएको छ । उहाले उद्योगी व्यवसायीले आन्दोलन नभइ उद्योग व्यवसाय सञ्चालनमा देखिएको समस्याबारे सरकारलाई ध्यानाकर्षण गराएको बताउनु भएको छ ।

यस्तै गरि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले निजी क्षेत्रको समस्या समाधानका लागि राजनीतिक दलको सहकार्य आवश्यक रहेको बताउनु भएको छ । 

यस्तै गरि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अबको समय आर्थिक विकासको समय भएको बताउनु भएको छ । उहाले सरकारसँगै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । अध्यक्ष शर्माले मण्डप/प्रदर्शनीस्थल आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले आगामी बन्ने सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न केन्द्रीत हुनुपर्ने बताउनु भएको छ । उहाले उपयुक्त प्रदर्शनी
स्थलको अभावका कारण मेला महोत्सव सञ्चालन गर्न अस्थायी संरचनामा रकम खर्चिनुपरेको बताउनु भएको छ । उहाले निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने समेत बताउनु भयो ।

मेलाको उद्घाटन कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयकी प्रमुख शान्ति सुवेदी ,लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी लगायतले आ आफ्नो भनाइ राख्नु भएको थियो ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ आगामी पुस ४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको सह-आयोजकमा सिद्धार्थनगर नगरपालिका र लुम्बिनी विकास कोष तथा प्रवद्र्धकमा नेपाल पर्यटक बोर्ड काठमाडौं र पर्यटन विकास परिषद लुम्बिनी प्रदेश रहेका छन् । महोत्सवमा २५० वटा स्टल रहेका छन् ।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : १९:३२:०६ , २ वर्ष अगाडि