सिद्धार्थनगर नगरपालिकाद्वारा सडक फुटपाथ अतिक्रमण हटाउन सुरु

रुपन्देही खबर , ४१८  पटक हेरिएको

भैरहवा, मंसिर २१

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको छ । फुटपाथ अतिक्रमणले नगर कुरुप देखिएको र सर्वसाधरणलाई हिड्डुल गर्न समेत समस्या भएपछि नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन सुरु गरेको हो ।

सडक फुटपाथ अतिक्रमण हटाउनका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । पहिलो पटकका लागि नगर प्रहरीहरुले दैनिक रुपमा खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरेका छ्न ।

  
‘फुटपाथ अतिक्रमण गरेकाहरुलाई पहिलो पटकका लागि सचेत गराएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले बताउनु भएको छ । उहाले अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणमा लिने गरेको समेत बताउनु भएको छ ।

विशेष गरी व्यवसायीहरुले बजार क्षेत्रको सडक फुटपाथ अतिक्रमण गरेका छन् । नगर प्रहरीले अतिक्रमण गरेर राखिएको साम्रगी नगरपालिकाको कार्यालय ल्याउने गरेका छन् । नगरपालिकाको कार्यालयमा आएको साम्रगी व्यवसायीले लिन आएको खण्डमा व्यवसाय दर्ता, बहाल कर, व्यवसाय नविकरण गरे÷नगरेको समेत पहिचान गर्ने गरिएको छ । 

नियन्त्रणमा लिएको साम्रगी व्यवसायीले लिन आएको अवस्थामा सम्बन्धित व्यवसायको कागजी विवरण समेत क्रस चेक गर्ने गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताउनु भएको छ । उहाले कैफियत देखिएको अवस्थामा कानुन बमोजिम प्रक्रियामा लग्ने गरेको समेत बताउनु भयो ।

उहाले सडक फुटपाथ अतिक्रमण हटाउने अभियानले सर्वसाधरणलाई सहज पनि भएको र राजश्व नबुझाएको व्यवसायीले राजश्व समेत बुझाउने गरेको बताउनु भएको छ ।

व्यवसाय सम्बन्धि सबै कागजपत्र दुरुस्त भएको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणको हकमा पहिलो पटकको लागि सचेत गराएर साम्रगी दिने गरिएको उहाको भनाई छ। उहाका अनुसार फुटपाथ अतिक्रमण हटाउने अभियानको क्रममा तीन दिनमा करिब ६० हजार रुपैयाँ राजश्व समेत संकलन भएको छ ।

प्रकाशित मिति: २०२२-१२-०७ , समय : १८:३१:४५ , २ वर्ष अगाडि