सुनवल नगरपालिकाको हरेक वडामा योजना सम्झौता वडाबाटै शुरु

रामु भुसाल , ३४६  पटक हेरिएको

सुनवल, मंसिर १२

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि नगरवासीलाई सहज भएको छ। नगर सभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो ।

सम्बन्धित वडामा नगर प्रमुख , प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी सहितको टोली  पुगेर सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीका बीच कार्य सम्झौता गर्ने काम भईरहेको नगर प्रमुख अर्यालले बताउनुभयो। 

वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटो छरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालय सम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा-वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको मेयर अर्यालले उल्लेख गर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरवासी लाभग्राहीको लागि  यो एक प्रकारको घुम्ती सेवा जस्तै भएको बताउनुभयो ।  उपभोक्ता समितिले योजना सम्झौता पश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै नगरपालिका कार्यालयमा आए पुग्ने एउटै कामका लागि पटक-पटक आइरहनुपर्ने भएकोले उपभोक्तालाई सहज हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार १३ वटा वडा रहेको नगरपालिकाका हालसम्म वडा नं. ४,५ र १२ मा यो कार्यको शुरुआत भईसकेको छ भने  बाँकी रहेका वडामा क्रमशः सम्झौता गरिने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताउनुभयो ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माण कार्यलाई सरलीकरण र सहभागिता मूलक रूपमा सञ्चालन गर्न यो सेवा वडा-वडामै लगिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०२२-११-२८ , समय : २२:०९:४० , २ वर्ष अगाडि