रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा इन्सेकको ध्यानाकर्षण

उर्मिला यादव यात्री , ५२३  पटक हेरिएको

भैरहवा, कार्तिक २९

इन्सेक नेपालले रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाइ ध्यानाकर्षण गराएको छ । रुपन्देहीको भैरहवामा सोमबार मानवअधिकारवादी संस्था इन्सेकले यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा सरोकारवालाहरुसंग छलफल कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा ध्यानाकर्षण गराएको हो ।

छलफल कार्यक्रममा इन्सेक कार्यसमिति सदस्य शोभाखर बुढाथोकीले निर्वाचनलाइ स्वच्छ, निस्पक्ष र धाधलीरहित बनाउन आचारसंहिताको विषयलाई गम्भीरतापुर्वक लिनुपर्ने बताउनु भएको छ ।

यस्तै गरि छलफल कार्यक्रममा आनिक रानाले यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायको मतदाताको लागि प्रशासनिक तर्फबाट के कस्तो ब्यवस्थापन भएको छ भनि चासो व्यक्त गर्नु भएको थियो । उहाले रुपन्देहीमा यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदाय ६ देखि ९ हजार रहेको जानकारी दिदै निर्वाचन स्थलमा आफ्नो समुदायको लाइन नहुदा आफुहरु आफ्नो मताधिकारबाट बन्चित भएको गुनासो गर्नु भएको छ । रानाले रुपन्देहीमा १ हजार भन्दा बढी यौनिक तथा लैङ्िगक अल्पसंख्यक मतदाता भए पनि मतदाता शिक्षा लिन कोहि पनि नआएको बताउनु भएको छ । रानाले आफ्नो समुदायको अधिकारको लागि बर्षौ देखि आवाज उठाउदा पनि अझै सम्म सुनुवाइ नभएको गुनासो गर्नु भएको थियो । उहाले यौनिक तथा लैङ्िगक अल्पसंख्यक मतदाताले पनि आफ्नो मताधिकार सदुपयोग गर्नुपर्ने बताउदै निर्वाचनमा यौनिक तथा लैङ्िगक अल्पसंख्यकको छुट्टै लाइन हुनुपर्ने माग गर्नु भएको छ ।

छलफलमा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरमका शिव गौडेल, रिमा बिसि, गैसस महासंघ नेपालका केन्द्रिय सदस्य गोबिन्द प्रसाद रेग्मी लगायतले रुपन्देही जिल्लामा प्रचारप्रसारको क्रममा दलहरुले आचारसंहिता उल्लंघन गरेको भन्दै प्रशासनको ध्यानाकर्षण गराउनु भएको थियो ।

यस्तै गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निर्वाचनलाई भयरहित बनाउनका लागि जिल्लामा चारै तहका सुरक्षा निकायहरुलाई परिचालन गरिएको बताउनु भएको छ । उहाले रुपन्देही जिल्लामा १ हजार ७ सय ३५ नेपाल प्रहरी, ३ हजार ९५ म्यादी प्रहरी गरि ४ हजार ८ सय तीस नेपाल प्रहरी, ८ सय ८८ सशस्त्र प्रहरी,२९ जना अनुसन्धानका कर्मचारी र ८ हजार भन्दा बढी कर्मचारीलाइ निर्वाचनमा खटाइएको बताउनु भएको छ ।

जिल्लामा २ सय १३ मतदानस्थल, ७ सय ७ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लाको दक्षिणतर्फको नेपाल भारत सीमा नाकालाई उच्च सतर्कता अपनाउँदै भारतीय सुरक्षा प्रमुखहरुसँग बैठक बसेर दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गर्ने गरी मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमा नाका पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । उहाले शान्तिपुर्ण तरिकाले मतदान गर्न सकिने ब्यवस्था मिलाइएको र मतदान प्रक्रियामा कसैले अवरोध गरे कानुनी प्रक्रिया अनुसार कार्वाही गरिने समेत बताउनु भएको छ । यस्तै गरि निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा निर्वाचन टोलि सहित अनुगमन भैरहेको र अनुगमन गर्ने क्रममा आचारसंहिता उल्लंघन गरेको उजुरीको आधारमा कार्वाही समेत गर्ने गरिएको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-१५ , समय : १४:२२:३० , २ वर्ष अगाडि