रुपन्देही खबर , ५४० पटक हेरिएको
भैरहवा, कार्तिक २९
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईले निर्वाचन जित्दा एमालेको नेतृत्वमा सरकार बन्ने बताउनु भएको छ। उहाले राप्रपाले संसदमा केपी शर्मा ओलीलाई मत दिने भएकाले त्यसका लागि रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरालाई जिताउनुपर्ने बताउनु भएको छ।
एमाले सिद्धार्थनगर नगर कमिटीद्वारा सोमबार भैरहवामा आयोजित वृहत कार्यकर्ता भेला तथा प्रतिनिधिसभा/प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित कार्यक्रममा बोल्दै नेता भट्टराईले एमालेको नेतृत्वमा सरकार बनाउने मिसन भएकाले भैरहवाका धर्तीपुत्र बोहरालाई जिताउनुपर्ने आग्रह गर्नु भएको छ ।
उहाले भन्नु भयो , ‘यस क्षेत्रबाट बालकृष्ण खाँणलाई जिताए उहाँले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन मत हाल्नुहुन्नन, दीपक बोहरालाई नजिताए एमाले नेतृत्वमा सरकार नबन्न सक्छ, त्यसलै आजको आवश्यकता बनेको एमाले, राप्रपा र जसपाको तालमेललाई जिताउनु हो । ’उहाले प्रदेशसभा सदस्य ३ (१) मा युवा नेता महेन्द्र यादव र ३ (२) तुल्सी प्रसाद चौधरीलाई जिताउन आग्रह गर्नु भएको छ ।
एमालेले साढे ३ वर्ष मात्र सरकार चलाउन पाएका कारण केही काम गर्न बाँकी रहेको र ती काम अब एमाले नेतृत्वमा बन्ने सरकारले पूरा गर्ने उहाको भनाइ छ ।
उहाले भारतीय नाकाबन्दीविरुद्ध आवाज उठाउने, चुच्चे नक्सा जारी गर्ने काम ओलीकै अगुवाइमा भएकाले ओलीकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिनु भएको छ । नेता भट्टराईले शेरबहादुर देउवा र प्रचण्डबाट मुलुकको विकास हुन नसक्ने बताउनु भएको छ । बालकृष्ण खाँणले भारतीय सेनालाई कालापानीबाट हटाउनुपर्छ भन्न सक्नुहुन्छ भन्दै उहाले प्रश्न गर्नु भयो । एमाले नेतृत्वको सरकारले नै अतिक्रमित भूमि फिर्ता गराउने उहाको भनाइ छ।
त्यस्तै राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले सरकारले निष्पक्ष निर्वाचन गराउनुपर्ने बताउनु भएको छ। उहाले नेपाली जनताले राष्ट्रवादी नेता केपी ओलीलाई मन पराएकाले उहाँलाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । नेता थापाले राप्रपाले ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने बताउनु भएको छ । उहाले गठबन्धन सरकारले आलु जस्तै तक्मा बांडेको आरोप लगाउनु भएको छ ।
जसपा केन्द्रीय सदस्य तथा रुपन्देही–३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले मुलुकलाई निकास दिन तीनदलबीच तालमेल भएको बताउनु भएको छ। उहाले तीनदलबीच इमान्दारिता छ भन्ने कुुरा प्रमाणित गर्ने दिन मंसिर ४ गते भएको बताउनु भएको छ । उहवले यसअघि निर्वाचित प्रतिनिधिबाट के के विकासका काम भए भन्ने कुरा जनताले राम्रोसँग बुझेको बताउनु भएको छ ।
एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले सतारुढ गठबन्धन एमालेसँग तर्सिएको बताउनु भएको छ । एमालेले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट जित्ने उहाले दावी गर्नु भएको छ ।
एमाले रुपन्देहीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले दीपक बोहरा, महेन्द्र यादव र तुल्सी प्रसाद चौधरीलाई अत्याधिक मतले जिताउनुपर्ने बताउनु भएको छ। उहाले पार्टीको निर्णयअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको छ।
एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, इञ्चार्ज चोपलाल आचार्यको स्वागत तथा सचिव नारायण प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२२-११-१५ , समय : १०:१६:०६ , २ वर्ष अगाडि