उर्मिला यादव यात्री , ४७९ पटक हेरिएको
भैरहवा , कार्तिक २८
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस कृष्ण कोइरालाले यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ८ हजार भन्दा बढी कर्मचारी खटाइने बताउनु भएको छ ।
आइतबार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले भैरहवामा आयोजना गरेको शान्त, स्वच्छ र निष्पक्षको लागि हाम्रो अभियान विषयक साक्षात्कारमा उहाले सो कुरा बताउनु भएको हो ।
उहाले निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगबाट प्राप्त भएका निर्वाचन सामाग्रीहरु सबै मतदान केन्द्रमा आवश्यक सामग्रीको ब्यवस्थापन भैसकेको बताउनु भएको छ । उहाले मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरुलाइ कार्तिक ३० र मंसिर १ गते भित्रमा निर्वाचन सामग्री जिम्मा लगाएर मतदान केन्द्रमा पठाउने चरणमा रहेको उल्लेख गर्नु भयो । उहाले निर्वाचनका लागी ब्यवस्थापकीय र अरु सुरक्षाका हिसाबले हेर्नु पर्ने कुरा सम्पन्न गरिसकेको बताउनु भएको छ ।
जिल्लामा आचारसंहिताका उजुरी खासै ठूलो नआएको र सामान्य किसिमका आएकाले दलहरुलाई बोलाएर सर्वदलीय बैठक मार्फत सुल्झाएको बताउनु भएको छ। उहाले पहिले हुने निर्वाचनमा लागू भएका आचारसंहिताका बुँदाहरुलाई दलहरुले कार्यान्वयन गरेको तर नयाँ थप भएका केही बुँदाहरुलाई पालना नगरेको पाइएपछि दलका प्रमुखहरुलाई ध्यानाकर्षण समेत गराएको बताउनु भयो । उहाले मंसिर ४ गते हुने निर्वाचनमा सुरक्षा ब्यवस्था मजबुत भएकोले शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न हुने बिश्वास व्यक्त गर्नु भएको छ ।
यस्तै गरी साक्षात्कारमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निर्वाचनलाई भयरहित बनाउनका लागि जिल्लामा चारै तहका सुरक्षा निकायहरुलाई परिचालन गरिएको बताउनु भएको छ । उहाले रुपन्देही जिल्लामा १ हजार ७ सय ३५ जनपथ प्रहरी र ३ हजार ९५ म्यादी प्रहरी गरी ४ हजार ८ सय ३० नेपाल प्रहरी, ८ सय ८८ सशस्त्र प्रहरी र ८ हजार भन्दा बढी कर्मचारीलाइ निर्वाचनमा खटाइएको बताउनु भएको छ ।
जिल्लामा २ सय १३ मतदानस्थल,७ सय ७ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लाको दक्षिणतर्फको नेपाल भारत सीमा नाकालाई उच्च सतर्कता अपनाउँदै भारतीय सुरक्षा प्रमुखहरुसँग बैठक बसेर दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गर्ने गरी मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमा नाका पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । उहाले शान्तिपुर्ण तरिकाले मतदान गर्न सकिने ब्यवस्था मिलाइएको र मतदान प्रक्रियामा कसैले अवरोध गरे कानुनी प्रक्रिया अनुसार कार्वाही गरिने समेत बताउनु भएको छ। यस्तै गरि निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा निर्वाचन टोलि सहित अनुगमन भैरहेको र अनुगमन गर्ने क्रममा आचारसंहिता उल्लंघन गरेको उजुरीको आधारमा कार्वाही समेत गर्ने गरिएको बताउनु भएको छ ।
यता विभिन्न राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । रुपन्देहीमा रहेका बिभिन्न राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कहीकतै उल्लघंन भएमा कारवाहीको भागीदार हुने समेत बताएका छन् ।
यस्तै गरी कार्यक्रममा नेकपा एमाले रुपन्देहीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई आफ्नो पार्टीले विशेष ध्यान दिएको बताउँदै आचारसंहिता पूर्ण रुपमा पालना गरेको दावी समेत गर्नु भएको छ । उहाले आफ्नो पार्टीले नगर, क्षेत्र हुँदै टोलसम्म कहिकतै त्रुटी नगर्नको लागि निर्देशन दिएको बताउनु भएको छ । उहाले केही कमजोरी भएका सम्बन्धित निकायलाई सुझाव दिन आग्रह गर्दै कारवाही गर्ने निकायले दलहरु आग्रह पूर्वाग्रह गरेर कारवाही गर्न नहुने जोड दिनु भयो ।
यस्तै गरी कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगरका इञ्चार्ज फैज अहमद खानले सत्ता गठबन्धन दलहरु निर्वाचन आचारसंहिता लागू गनुपर्नेमा पटकपटक छलफल भएकोले कुनै शंका गर्न नहुने बताउनु भएको छ । उहाले गठबन्धन दलहरु आचारसंहिता पालना गर्नको लागि प्रतिवद्ध रहेको जिकिर गर्नु भएको छ ।
कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ भने कार्यक्रम संचालन तेजेन्द्र केसीले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२२-११-१४ , समय : ०६:३३:३८ , २ वर्ष अगाडि