रुपन्देही खबर , ४४५ पटक हेरिएको
काठमाडौं, कार्तिक २७
इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । लियाम लिभिङस्टोन १ रनमा अविजित रहे । कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए ।
मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए । पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले १र१ विकेट लिए ।
त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए ।
शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए । शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहदा हरिस राउफले अविजित १ रन बनाए ।
इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । क्रिस जोर्डन र आदील राशिदले २-२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो । इंग्ल्यान्डले दोस्रो पटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो ।
प्रकाशित मिति: २०२२-११-१३ , समय : १८:३४:२७ , २ वर्ष अगाडि