रुपन्देहीको भैरहवामा आचारसंहिताको उल्लंघन: प्रचारप्रसारमा बालिकाको प्रयोग

रुपन्देही खबर , ४१०  पटक हेरिएको

भैरहवा,कार्तिक १६

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कसैलाई छुट नहुने भनिरहँदा रुपन्देहीको सदरमुकाम भैरहवामा आचारसंहिता विपरीतका गतिविधि भइरहेका छन् ।

निर्वाचन प्रचारप्रसार कार्यक्रममा बालिकाको प्रयोग,पाेल र भित्तामा पाेस्टर, सडकमा डिजे र व्यानर सहितकाे गाडी प्रयाेग भएको पाइएको छ ।उम्मेदवारले आचारसंहितामा रही निर्वाचनको गतिविधि गर्ने भनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिबद्धता जनाए पनि बहालवाला गृहमन्त्री नै आचारसंहिता विपरीत बालिकालाई प्रचारप्रसार कार्यालयको उद्घाटनमा प्रयोग गर्नु भएको छ । पाँच दलीय गठबन्धनले मंगलबार निर्वाचन क्षेत्र नम्बर अन्तर्गत सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ७ को प्रचारप्रसार कार्यालय उद्घाटनमा कक्षा ६ मा पढ्ने एक बालिकालाई झण्डासहित नृत्यमा प्रयोग गरेका छन् । स्थानीय सनसाइन स्कुलमा अध्ययनरत ती बालिकाले गृहमन्त्री प्रमुख अतिथि रहेको उहाकै कार्यक्रममा नेपाली कांग्रेस जिन्दावाद नामक गीतमा रुख चिह्नअंकित झण्डासहित नृत्य गरेकी छन् ।गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभामा नेपाली कांग्रेसबाट बहालावाल गृहमन्त्री बालकृष्ण खाण र प्रदेशसभा क्षेत्र नम्बर ३ एक बाट लोसपाका सन्तोस पाण्डे उम्मेदवार छन् ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ को दफा १३ खण्ड ट मा राजनीतिक दल, उम्मेदवार दलको भ्रातृ संगठन तथा सम्बन्धित् व्यक्तिले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने र खण्ड घ मा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा दलको उम्मेदवारको निर्वाचन चिह्न वा झण्डाअंकित बोक्न नहुने भनिए पनि गृहमन्त्री नै सामेल भएको उहाकै क्षेत्रको कार्यक्रममा बालिकाले झण्डासहित नेपाली कांग्रेस जिन्दावाद भन्दै नृत्य गरेकी छन् ।

यस्तै पाँच दलीय गठबन्धनकै उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत गाडीमा उम्मेदवारको फोटो सहितको व्यानर लगाई साउन्ड बाजा सहित प्रचारप्रसारमा रहेका छन् । परिच्छेद ४ को खण्ड १३ ण मा प्रचारप्रसारमा बाजा, गाजासहित जान नहुने उल्लेख छ । तर, उम्मेदवारले सोहीलाई प्रयोग गरी प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै हिँडेका छन्, जो आचारसंहिता बाहिर गएर प्रचारप्रसार भएको छ । 

यसैगरी जनमत पार्टीका उम्मेदवार प्रमोद कुमार राउत र सलाउद्दीन आलम, स्वतन्त्र उम्मेदवार केशव विक्रम खडका, स्वतन्त्र उम्मेदवार इशरत अलीले पनि आचारसंहिता विपरीत पोल र भित्तामा पोस्टर/व्यानर लगाएका छन् । आचारसंहिताको परिच्छेद ४ दफा १३ को खण्ड ज मा निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान र सडकको पोलमा दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टास्न पाइँदैन । मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका प्रवक्ता शोभाकर खरेलले आचारसंहिताको उल्लंघन भए प्रमाणका साथ लिखित उजुरी गर्न सकिने व्यवस्था रहेकाे र अहिलेसम्म उजुरी नआएको बताउनु भएको छ।

यता निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णु प्रसाद ज्ञवालीले आचारसंहिता उल्लघन गरे भनेर रोहिणी गाउँपालिका विरुद्ध लिखित उजुरी परेको बताउनु भएको छ । ‘हामीले पनि गाउँपलिकालाई कुस्तीको विषयमा लिखित स्पष्टीकरण सोधेका छौँ, आयोगलाई जानकारी पनि भइसकेको छ,’ उहाले भन्नु भयो , ‘हिजो बालिकाको प्रयोग भनि फोटो र भिडियो पनि आएको छ । यसलाई पनि आयोगमा पठाएका छौँ ।’न्युज कारखाना    

प्रकाशित मिति: २०२२-११-०२ , समय : १२:५४:१३ , २ वर्ष अगाडि