रुपन्देही खबर , ३८३ पटक हेरिएको
भैरहवा, कार्तिक १५
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा आज देखि वृहत खुल्ला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागीता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै रोहिणी गाउँपालिका प्रमुख विद्या प्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताउनु भएको छ । उहाले खेलकुद क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनु भयो ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले युवाहरुलाई प्रोत्साहन गर्न र तराई–मधेशमा लोकप्रिय कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनु भएको छ । ‘लोप हुन लागेको कुस्तीको संरक्षणको लागि पाँच लाख बजेट बिनियोजन गरी गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको र आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगितालाई निरन्तरता दिने उहाको भनाइ छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने उहाले जानकारी दिनु भएको छ । निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहन वापत साइकल र टेलिभिजनको व्यवस्था गरिएको उहाले बताउनु भयो ।
गाउँपालिकाले आयोजना गरेको कुस्ती प्रतियोगिता खेलाडीहरुलाई प्रोत्साहन गर्ने पर्सा जिल्लाबाट आएका पहलमान राज यादवले बताउनु भयो ।
रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिका प्रमुख विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, योजना शाखा प्रमुख राजकुमार मिश्राको स्वागत तथा पत्रकार पशुपति यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मिति: २०२२-११-०१ , समय : १६:१४:५८ , २ वर्ष अगाडि