रुपन्देही खबर , ३३८ पटक हेरिएको
भैरहवा, असोज ३०
गृहमन्त्री बालकृष्ण खाँणले पटक–पटक संसदमाथि प्रहार गर्नेलाई फेरि संसदमा पठाउन उचित नहुने बताउनु भएको छ । उहाले त्यस्तालाई संसदमा पठाउँदा मुलुकमा शान्ति खलबलिने र अस्थिरता सिर्जना हुने जिकिर गर्नु भयो ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनु भएको काँग्रेस केन्द्रिय सदस्य खाँणले आइतबार मायादेवी गाउँपालिका ८ मा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै अब प्रतिगमन पक्षधरहरुलाई मतदाताले चिन्नुपर्ने बताउनु भएको छ ।
गृहमन्त्री खाँणले भन्नु भयो‘हात जोडेर हामीलाई मत दिनुस् भन्दै आउन संसद विघटन पक्षधरलाई कुनै हिच्किचाहट छैन, आफैले प्रहार गरेको संसदमा फेरि पठाउनुस् भनेर मतदातामा कसरी जानसक्नुभए होला ’ उहाले यस्ता नेता भएको विपक्षी गठबन्धनलाई जिताएर पठाए फेरि संसद भंग गर्नसक्ने भन्दै मतदाता सचेत हुनुपर्ने बताउनु भएको छ ।
गृहमन्त्री खाँणले लोकतन्त्र र संविधान रक्षा, विकास र समृद्धिका लागि वर्तमान पाँच दलीय गठबन्धन बनेको बताउँदै आउँदो निर्वाचनमा मतदाताले विवेक प्रयोग गर्नुपर्ने जनाउनु भयो। ‘यो गठबन्धन सबै नेपालीको जीवन सहज र सार्थक बनाउन, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्न र विकास गर्नका लागि बनेको हो’, उहाले भन्नुभयो,‘यो गठबन्धनले मुलुकलाई सही दिशामा लैजाने छ। शान्ति, राजनीतिक स्थिरता मुलुकका लागि आवश्यक छ ।’
उहाले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै दलहरुलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । निर्वाचनबाट जनताले आफ्नो मताधिकारको प्रयोग गरी प्रतिनिधि चुन्ने भएकाले यसलाई विथोल्ने, हिंसा भड्काउने काम गर्न नहुने भन्दै उहाले यस्ता कार्य रोक्न सरकार लागि परेको र केही समूह, राजनीतिक दलसँग छलफल गरिरहेको बताउनु भएको छ । स्थानीय निर्वाचनमा धेरै मत बदर भएको बताउँदै गृहमन्त्री खाँणले मतदाता शिक्षामा विशेष ध्यान दिन आग्रह समेत गर्नु भएको छ ।
काँग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार योगेन्द्र चौधरी, क्षेत्र नम्बर ३ (क)का सत्ता गठबन्धनका उम्मेदवार लोसपाका सन्तोषकुमार पाण्डेय, काँग्रेस नेता तथा प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फका उम्मेदवार देवीप्रसाद चौधरी र नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ३ का इन्चार्ज तिरबहादुर रोकामगर (डार्बिन) लगायतले बोल्दै अहिलेको गठबन्धन प्रतिगमनका विरुद्ध र संविधान, लोकतन्त्र, संघीयताको रक्षा एवं स्थायित्वको लागि भएको बताएका थिए ।
प्रकाशित मिति: २०२२-१०-१६ , समय : १७:१६:३४ , २ वर्ष अगाडि