रुपन्देही खबर , ३५३ पटक हेरिएको
काठमाडौं , असोज २८
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति नेपाल पत्रकार महासंघले आपक्ति जनाएको छ ।
निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहिता समेत पालना भए(नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति महासंघले असमति जनाएको हो । महासंघले आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको पनि जनाएको छ ।
नेपाली सञ्चारजगतले स्वनियमनको सिद्धान्त अनुसार सञ्चारक्षेत्र आफैंले बनाएको आचारसंहिता पालना गर्दै आइरहेको तर्फ आयोगको ध्यानाकर्षण गराउँदै महासंघले विभाग मार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने प्रष्ट पारेको छ ।
यस्तै आयोगले चुनाव प्रचाररप्रसार सम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरेकोमा पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ । लोकतन्त्रमा सबै सञ्चारमाध्यमको भूमिका समान हुने कुरामा महासंघ विश्वस्त रहेको उल्लेख गर्दै महासंघले विज्ञप्तिमा संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक भएकोले उल्लेख गरेको छ ।
तत्काल सञ्चाएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका प्रचार र प्रसार सम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्न जोडदार महासंघले माग पनि गरेको छ ।
प्रकाशित मिति: २०२२-१०-१४ , समय : १९:०१:०० , २ वर्ष अगाडि