रुपन्देही क्षेत्र नं.१ बाट भुसालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा

रुपन्देही खबर , ३२६  पटक हेरिएको

भैरहवा,असोज २३

शनिबार मात्रै नेकपा एमाले परित्याग गर्नु भएको घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

भुसालले आज बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै आज वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको जानकारी गराउनु भएको हो ।

भुसालले आफुलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको बताउनु भएको छ । उहाले आफुलाई नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफुले स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको बताउनु भएको छ । ‘मलाई हिजो माओवादीका साथीहरुले बिनम्रतापूर्व आफ्नो पार्टीको चुनाव चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिन आग्रह गरे । कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो । तर मैले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताउनु भयो ।’, उनले भन्नु भयो , ‘प्रचण्डले गठबन्धनमा प्रधानमन्त्री र माधव कमरेडसँग कुरा गर्नुपर्छ भन्नुभयो । मध्यराती १२ बजे उहाँहरुले मलाई समर्थन गर्ने जनाउनु भयो ।’

भुसालले प्रचण्डले आफ्नो तर्फबाट कुनै उम्मेदवारी नदिई मलाई सघाउ गर्ने प्रतिवद्धता जनाएको बताउनु भएको छ । व्यवहारिक राजनीतिमा जहाँ बढी संभावनाहरु छन्, त्यहीँबाट आफुले उम्मेदवारी दिन लागेको भुसालले बताउनु भएको छ ।

भुसालले अब आफु सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारको रुपमा आज उम्मेदवारी दर्ता गर्ने जानकारी दिनु भएको छ । उहाले आफु राजनीतिक मान्छे भएका कारण अरूक्षेत्रबाट राजनीतिमा योगदान हुनसके पनि संसदबाटै प्रभावकारी हुने भएका कारण चुनावमा उठ्न लागेको बताउनु भएको छ ।

भुसालले वाम एकताको कुरा गरेबापत आफुलाई किनारा लगाइएको दाबी पनि गर्नु भएको छ। भुसालले नवौं महाधिवेशनमा नीति आफ्नो पारित भए पनि नेतृत्व ओलीको भएको बताउनु भएको छ । उहाले समस्या त्यहाबाट सुरुभएको दाबी गर्नु भएको छ । खबरकुरा डटकम

प्रकाशित मिति: २०२२-१०-०९ , समय : १०:२३:५३ , २ वर्ष अगाडि