गुल्मीका प्रहरी प्रमुख रानाभाट र पत्रकार बिच चाडपर्व तथा निर्वाचन सुरक्षाको अवस्थाका बारेमा छलफल

रुपन्देही खबर , २१७  पटक हेरिएको

गुल्मी, असोज १४

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख अर्जुन रानाभाटले जिल्लाका संचारकर्मीहरुसंग भेटघाट गर्नु भएको छ । उहा यहि साता प्रहरी प्रमुखको रुपमा जिल्ला प्रहरी कार्यालय गुल्मी आउनु भएको हो । बुधबार कार्यालयमा पत्रकार संग भेटघाट गर्दै सगठनको काम कारबाहीको प्रतिक्रिया, चाडपर्व तथा निर्वाचन सुरक्षाको अवस्थाका बारेमा छलफल गर्नु भएको थियो ।

छलफलमा पत्रकारहरुले सवारी साधनमा हुने चाँप, मनपरी गाडीभाडा, तम्घास बजारमा मोटरसाइकलको तिव्र गति, नाकाहरुमा कडाई र तथ्यांक संकलन, घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणमा कडाई, ठुला मेलाहरुको सुरक्षा लगायतका बिषयमा प्रहरी प्रमुख रानाभाटको ध्यानाकर्षण गराएका थिए । पत्रकारहरुको सुझावसंगै रानाभाटले कम जनशक्तिकाबिच मुख्य चाडपर्वलाई सुखद र निर्वाचनलाई सफल बनाउन आम नागरिकको सहयोगको अपेक्षा गर्नु भएको छ ।

उहाले प्रहरी गस्ती बढाउने, मनपरी भाडा र यात्रु ओर्साने नदिने, नजिकैको मेला महोत्सवहरुको सुरक्षाको लागि स्थानीय युवा क्लव, जनप्रतिनिधी र सहरोकारवालासंग समन्वय गरेर व्यावस्थापन गर्ने बिषयमा मातहत सवै चौकीहरुलाई स्पष्ट निर्देशन दिएको बताउनु भएको छ । उहाले पत्रकार र प्रहरीबिच सूचनाको आदानप्रदान आवश्यक रहेकाले दोहोरो समन्वय गर्न आग्रह समेत गर्नु भएको छ ।

साथै पत्रकारहरुले सवारी चालकहरुको आँखा परिक्षण गर्न सम्बन्धित निकायसंग समन्वयन गर्न, उदिनढुङ्गा बागमारे चेकपोष्टमा चेकजाँचमा कडाई गर्न पनि सुझाव दिएका छन् । सवै सुझावहरुको तत्काल कार्यान्वयन गर्ने रानाभाटले प्रतिवद्धता जनाउनु भएको छ । उहा अहिले सुदुरपश्चिम प्रहरी गणबाट सरुवा भएर गुल्मी आउनु भएको हो ।

प्रकाशित मिति: २०२२-०९-३० , समय : १४:५४:२७ , २ वर्ष अगाडि