बर्दघाट नगरपालिकाद्वारा कर सहभागिता अभियान २०७९ घोषणा

रामु भुसाल , ४९४  पटक हेरिएको

नवलपरासी, असोज ७

बर्दघाट नगरपालिकालाई आत्म निर्भर बनाउन हरेक नगरबासीले आफुले बुझाउनु पर्ने कर समयमै चुक्ता गरी आफु नगरको जिम्मेवार नागरिक बन्नुपर्ने कुरा माथि एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । शुक्रबार बर्दघाट नगरपालिकाको आयोजनामा कर सहभागिता अभियान २०७९ घोषणा कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा जोड दिएका हुन ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिकालाई आन्तरिक राजश्व बाट सक्षम बनाउन हरेक नागरिकले जिम्मेवारीका साथ आफुले सञ्चालन गर्ने व्यापार, व्यवसाय लगायत विभिन्न विधाको कर समयमै बुझाउन अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा नगरपालिकाका उप प्रमुख रुद्र प्रकाश उपाध्यायले नगरवासीमा केही अन्योलताका कारण पनि नगरले सोचे अनुरुप कर उठाउन नसकेको हुन सक्ने बताउदै नगरका जिम्मेवार कर्मचारी, जन प्रतिनिधि तथा संचार जगतले पनि नागरिकलाई सहज रुपले कर चुक्ता गर्न सकारात्मक भुमिका निर्वाह गरी करको दायरामा ल्याउन अनुरोध गर्नूभएको छ ।

सो अवसरमा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले तिन तहको सरकारले ल्याउने विभिन्न योजनाका बजेटमा करले महत्वपुर्ण भुमिका खेल्ने हुदा बर्दघाट नगरपालिकाको विकासका निम्ति पनि नगरबासीले बाकी रहेका करहरु समयमै भुक्तानी गरि नगरलाई सहयोग गर्नुपर्ने र त्यसका लागी हरेक नागरिक आफै जिम्मेवार भई कर बुझाउनुपर्ने बताउनुभयो ।


नगरले कर सहभागिता अभियान कै थालनी गरिसकेको बताउदै नगरबासीमा म कर बुझाउछु भन्ने जिम्मेवारीबोध हुन आवश्यक रहेको बताउनुभयो । सो अवसरमा बर्दघाट नगर कार्यपालिका सदस्य, पत्रकार लगाएतको उपस्थिती रहेको कार्यक्रममा सहभागिहरुले समयमै म कर बुझाउछु भन्ने प्रतिबद्धता समेत जनाएका थिए ।

प्रकाशित मिति: २०२२-०९-२३ , समय : १९:५७:१४ , २ वर्ष अगाडि