फर्साटिकर युथ क्लब लिस्नु कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश

रबिन्द्र गुप्ता , ३००  पटक हेरिएको

भैरहवा,भदौ २६

साविक विजेता फर्साटिकर युथ क्लब रुपन्देहीको कोटिहवामा जारी २० औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयको मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोर्खा ब्वाइज स्पोर्टश क्लव बुटवललाई ३–० गोलले पराजित गर्दै फर्साटिकर क्लब सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

फर्साटिकरको जीतमा खेल सुरु भएको १९ औं मिनेटमा विवेक पुनले पहिलो गोल गर्दै १–० ले अग्रता दिलाएका थिए । ३० औं मिनेटमा बलराम न्यौपानेले गोल गरी २–० को अग्रता बनाउन सफल भए । मध्यान्तरसम्म २ गोलले पछि परेको गोर्खा ब्वाईजले ३ वटा राम्रा अवसर पाएको थियो खेलमा फर्कन । तर मौका चुकायो । मध्यान्तरपछि ६४ मिनेटमा फर्साटिकरका निजाम अलिले गोल गर्दै ३–० को अग्रता पुर्याए ।

जीतसँगै साविक विजेता फर्साटिकर युथ क्लबले सेमीफाइनलमा स्थान सुरक्षित  गरेको छ । खेलमा फर्साटिकरका विष्णु लामा म्यान अफ द म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छ्न । लामालाई तिलोत्तमा–१६ का समाजसेवी एवं क्लबका शुभेच्छुक पुरुषोत्तम सुवेदीले पुरस्कार दिनु भएको छ । त्यसै गरी सोही क्लबका बलराम न्यौपाने माईडिया म्यान अफ द मुभमेन्टबाट पुरस्कृत भएका छ्न ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टीमको सहभागिता रहेको छ भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनलमा पराजित हुने २ टीमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताउनु भएको छ ।

प्रतियोगितामा यस पटक सोही स्थानकी श्रीमाया गुरुङले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ । सोमबार दोस्रो क्वाटरफाइनल खेलमा फोर ब्रदर्श एफ.सी. नवलपरासी तथा राईजिङ्ग स्टार युवा क्लब शिवराज नगरपालिका कपिलवस्तु बीच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले बताउनु भयो ।

प्रकाशित मिति: २०२२-०९-११ , समय : २१:००:५९ , २ वर्ष अगाडि