अजय मिश्र , ४१२ पटक हेरिएको
कपिलवस्तु , बैशाख ६
नेपाली काँग्रेस कपिलवस्तुका प्रभावशाली दुइ नेता एमाले प्रवेश गरे सँगै कपिलवस्तुको बुद्धभूमि र महाराजगन्ज नगरपालिकामा हुने स्थानीय निर्वाचनमा काँग्रेसलाई सकस हुने देखिएको छ । मंगलबार नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नम्बर दुई का क्षेत्रिय सचिव गंगेशनाथ तिवारी र महाराजगन्ज नगरपालिका वडा नम्बर ११ का अध्यक्ष जगदिश तिवारी एमाले प्रवेश गर्नु भएको छ । युवा नेता गंगेशनाथ तिवारीको महाराजगन्ज नगरपालिकामा मात्र नभई बुद्धभूमि नगरपालिकाको वडा नम्बर ६,७ र ८ मा समेत प्रभाव रहेको छ । आजिवन राजनिती गर्दै आएका तिवारी परिवारको एमालेमा प्रवेशको विषयलाई लिएर नेपाली काँग्रेसमा समेत चर्चाको विषय वनेको छ । काँग्रेस प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको विश्वासनीय पात्र समेत रहेको गंगेशनाथ तिवारी शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष समेत हुनु हुन्छ ।
उहाँहरुलाई पार्टी प्रवेश गराउन एमाले नेता तथा संघिय सांसद विज्रेश कुमार गुप्ता, प्रदेश सचिवालय सदस्य झवीलाल पोख्रेल, महाराजगन्ज नगरपालिका मेयरका आकांक्षी रामदास चौधरी महाराजगन्ज निर्वाचन सम्पर्क कार्यालयमा पुग्नु भएको थियो । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता गुप्ताले मधेसको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नु भएको थियो । नेता गुप्ताले एमालेप्रति मधेशमा जनलहर बढेको बताउँदै कपिलवस्तुमा एमालेले सबै भन्दा बढी सिट जित्ने दाबी गर्नु भयो । एमाले प्रवेश पछि बोल्दै गंगेशनाथ तिवारीले काँग्रेसबाट निर्वाचित मेयर कलाम प्रति इंगित गर्दै मेयर कलामले राहतको नाममा धनीलाई २५ हजार दिने र गरिव जनतालाई दुइ चार हजार दिएको दाबी गर्नु भएको थियो । मेयर कलामको पालामा धेरै अनियमितता भएको महालेखा परिक्षकको प्रतिवेदनमा समेत आएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै एमाले प्रदेश सचिवालय सदस्य झवीलाल पोख्रेलले कपिलवस्तुमा एमाले पहिलो पार्टी हुने दाबी गर्नु भयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी, एमाले महाराजगन्ज अध्यक्ष निजामुद्धीन खान, युवा नेता रामदास चौधरीले लगायतले बोल्नु भएको थियो भने कार्यक्रम संचालन महाराजगन्ज नगर सचिव सन्तोष त्रिपाठीले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२२-०४-१९ , समय : २२:२६:१८ , ३ वर्ष अगाडि