रुपन्देही खबर , ८५ पटक हेरिएको

पोखरा, बैशाख १६
पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन शुरु भएको हो। हाल अन्तराष्ट्रिय कथा वाचिका देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गर्ने समय तालिका तय भएको छ, जसले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाएको छ। सोमबार उहाले भगवान कृष्णको जन्म उत्सव मनाउँदै फूल र मिठाई वितरण गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो । आयोजक समितिका सह–निर्देशक युवक लामिछानेका अनुसार, महायज्ञमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रिय वक्ताहरूको सहभागिता रहनेछ। साधु–सन्त, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको सक्रिय सहभागिताले यो महायज्ञ पोखरेली समाजको साझा उत्सवको रूपमा स्थापित भएको छ। ४१ दिनसम्म निरन्तर हवन हुने यस महायज्ञमा भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर सहभागी हुन आयोजकले अनुरोध गरेको छ।
:“हामीले धर्मको संरक्षण गरेमा मात्र धर्मले हाम्रो रक्षा गर्छ। मैले हलेसी यात्राको योजना बनाएको थिएँ, तर भोलेनाथसँग क्षमा माग्दै देवी प्रतिभाको कथा सुन्न यहाँ आइपुगेँ। संस्कृतको विद्यार्थी भएकाले मलाई धर्म र कर्मप्रति विशेष रुचि छ। पोखराको माटो साँच्चै भाग्यमानी छ, विशेषगरी बिरौटावासीका लागि यो अवसर सौभाग्यपूर्ण छ। हाम्री चेली देवी प्रतिभाले नेपाली संस्कृति र धर्मको क्षेत्रमा सधैं राष्ट्रिय पहिचान जोगाइरहने विश्वास लिएको छु।”:पत्रकार प्रकाश सुवेदीको भनाइ रहेको थियो
महायज्ञ वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ। कार्यक्रमलाई भव्य बनाउन तीव्र तयारी भइरहेको छ, जसमा कथा वाचन, भजन, प्रवचन, यज्ञ, सत्सङ्ग, सत्कार्य र सेवामूलक गतिविधिहरू समावेश छन्। गण्डकी कोटिहोम महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ, जसले पोखरालाई पर्यटकीय राजधानीका साथै धार्मिक गन्तव्यको रूपमा थप स्थापित गर्नेछ। विभिन्न स्थानबाट आएका साधु–सन्त, ब्राह्मण, धर्मगुरु, भक्तजन र आध्यात्मिक प्रेमीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमको गरिमा बढाएको छ। दैनिक अनुष्ठान, पूजापाठ, प्रवचन, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजक समितिका अनुसार बैशाख १६ गते आजदेखि राष्ट्रियस्तरका धार्मिक वक्ता र कलाकारहरूको सहभागिता रहनेछ। स्थानीय जनप्रतिनिधि, वडाध्यक्ष, नगर प्रमुख, स्वयंसेवक, महिला समूह, बालबालिका र वरिष्ठ नागरिकको आत्मीय सहभागिताले यो महायज्ञ सामाजिक सहकार्य, समर्पण र सद्भावको प्रतीक बनेको छ। गण्डकी कोटिहोम महायज्ञ केवल धार्मिक अनुष्ठानमा सीमित नभई, पोखरेली समाजको सांस्कृतिक पहिचान र एकताको दस्तावेजका रूपमा लामो समयसम्म स्मरणीय रहने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२५-०४-२९ , समय : ०८:२०:०८ , १२ घन्टा अगाडि