रुपन्देही खबर , ४२३ पटक हेरिएको
नवलपरासी, साउन १६
चुरेबाट बग्ने खोलानालामा अवैध चोरी निकासी गरि भण्डारण गर्नेको नाममा पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाले स्रोत खुलाई स्टक प्रमाणित गर्न पत्राचार गरेको छ । खोलानालामा खोलाजन्य पदार्थको चोरी निकासी रोक्न खोज्दा नगरप्रमुखलाई नै धम्क्याउने र सुरक्षा खतराको चेतावनी आएपछि नगरपालिकाले खोलाजन्य सामाग्रीको स्रोत खुलाउने गरी कदम चालेको हो ।
सुनवल नगरपालिकाको नदीजन्य पदार्थको अनुगमन समितिले सार्वजनिक सुचना जारी गरि ७ दिन भित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । नगरक्षेत्रको विभिन्न स्थानमा भण्डारण गरि राखिएका खोलाजन्य पदार्थको स्टक प्रमाणित गराउन आवश्यक कागजात समेत पेश गर्नुपर्ने र तोकिएको समय सिमा भित्र प्रमाण पेश गर्न नसकेमा भण्डारण (स्टक) अवैध मानेर कानुन बमोजिम कारवाही प्रकृया अगाडी बढाइने सुचनामा जनाएको छ ।
कार्यालयका उप सचिव विष्णु गोतामलेद्धारा हस्ताक्षरित सुचना साउन १३ गते नै जारी भई सकेको छ । यसले खोलामा लुट मचाउनेहरु हतोत्साहित भएको नगरपालिकाका एक कर्मचारीले बताएका छ्न । उनका अनुसार सुचनामा नदीजन्य पदार्थको चोरी निकासी गर्ने उपर सुराकीको पहिलो सुचना दिने ब्यक्तिको विवरण गोप्य राखी प्रोत्साहन समेत उपलब्ध गराउने कुरा समेत उल्लेख गरिएको छ ।
खोलामा चोरी निकासी गर्ने र अनुगमन गर्दा नगरप्रमुख बिमला अर्याललाई नै थ्रेट गर्ने कुरा सार्वजनिक भए पछि आम नगरबासीले नगरप्रमुखको कदम ठिक भएको बताएका छन् । तोकिएको म्याद भित्र स्कटको प्रमाणित नगराउने र प्रमाण पेश नगर्ने सबै सामाग्री अबैध घोषणा गरी जफत गरिने बताइएको छ ।
प्रकाशित मिति: २०२२-०८-०१ , समय : २३:११:०४ , २ वर्ष अगाडि