बिकास अधिकारी , १२८ पटक हेरिएको

नवलपरासी ,बैशाख १५
सिँचाई सुविधा वृद्धि गर्न पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले किसानहरूलाई कृषी यन्त्रउपकरण वितरण गरेको छ । वडा नम्बर ११ ले विनियोजन गरेको बजेट अनुसार १ सय ८ जना किसानहरूलाई १० लाख बराबरको सामाग्री सिँचाइ सहजिकरणका लागी वितरण गरिएको वडा अध्यक्ष धनिराम यादवले बताउनुभयो । पानी तान्ने पम्पसेट, मोटर, डेलिभरी पाइप, स्प्रे टयाङ्की लगायतका सामाग्री पचास प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
सिँचाईको पर्याप्त सुविधा नहुँदा किसानहरूलाई हरेक वर्ष बाली लगाउने समयमा समस्या हुँदै आएको छ । सिँचाइ यन्त्र उपरकण पाएपछि किसानहरू खुसी भएका छन् । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले सिँचाइ सम्बन्धी उपकरण पाएका किसानहरूले बेमौसमी खेती गर्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले सबै वडामा सिँचाइको व्यवस्था गर्न नगरपालिकाले बजेट व्यवस्थापन गरेर काम गर्दे आएको बताउँदै यसमा प्रदेश र संघिय सरकारले स्थानीय तहसँगको समन्वयमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुन्दन चौधरीले किसानहरूलाई क्रमश सेवा सुविधा वृद्धि हुँदै गएकाले उत्पादन बढाउन तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । खानेपानीको पहुँच बढाउने, सिँचाइ सुविधा बढाउने तर्फ वडाले समन्वय गरिरहेको वडा अध्यक्ष यादवले बताउनुभयो । नगरपालिकाले वडा तथा नगरको बजेटबाट विभिन्न वडामा सिँचाइ सामाग्री वितरण गर्दे आएको नगरपालिकाका कृषि शाखा प्रमुख किरण कुमार गुप्ताले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२५-०४-२८ , समय : ०८:०१:३० , २ दिन अगाडि