रुपन्देही खबर , १३० पटक हेरिएको

भैरहवा, बैशाख १३
भारतको जम्मु कश्मीरमा भएको आतंककारी हमलामा मारिएका नेपालीसहित भारतीय र तेस्रो मुलुकका नागरिकको सम्झनामा भैरहवामा शोकसभा र दीप प्रज्वलन गरिएको छ । शुक्रबार साँझ भैरहवाको बुद्धचोकमा नेपाल–भारत मैत्री केन्द्र, रुपन्देही नागरिक समाज र नेपाल–भारत पूर्व सैनिक परिवार कल्याण संगठनको संयुक्त आयोजनामा शोकसभा र दीप प्रज्वलन गरिएको हो ।
शोकसभामा बोल्दै प्रतिनिधिसभा सदस्य एवमं पूर्व पर्यटनमन्त्री प्रेमबहादुर आलेले घटनाको जति निन्दा गरे पनि कमै हुने बताउनु भएको छ । उहाले आतंकवादीले हिन्दूहरुलाई लक्षित गरी हत्या गरेको जनाउँदै धर्मका नाममा भएको उक्त हमला इतिहासकै कलंकित रहेको बताउनु भयो । ‘पाकिस्तानी आतंककारीले जुन किसिमले हमला गरेर नेपालीसहितका नागरिकहरुको हत्या गरेका छन्, त्यो भत्र्सना गर्न लायक समेत छैन’, उहाले भन्नु भयो , ‘धर्मका नाममा मानिसको हत्या गर्ने ती आतंककारी कायर हुन् । उनीहरु शान्ति कहिल्यै चाहँदैनन् ।’
उहाले नेपालले त्यस्ता आतंककारीको जहिल्यै विरोध गर्ने र यो समयमा भारत सरकारलाई साथ दिने बताउनु भएको छ । मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आलेले शोकसन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गर्नु भएको छ । यस्तै, पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले जातीय, धार्मिक, सांस्कृतिक कुनै किसिमका आतंकवाद स्वीकार्य नहुने बताउनु भएको छ । भारतमा भएको घटना निन्दनीय रहेको उहाले बताउनु भयो ।
मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवाल, नागरिक समाजका अध्यक्ष अमित गुप्ता, भूपु सैनिकका अध्यक्ष रेशम केसीले आतंककारी घटनाले आफूहरुलाई दुखी तुल्याएको बताउनु भएको छ । यो घटनाको विश्व समुदायले निन्दा गरेको जनाउँदै आतंकवादविरुद्ध सबै एकजुट हुनुपर्ने उनीहरुको भनाई छ । शोकसभा तथा दीप प्रज्वलनमा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी, स्थानीय लगायत सहभागी थिए । शोकसभा पछि दीप प्रज्वलन गरेर मृतकहरुको सम्झना गरिएको थियो ।
प्रकाशित मिति: २०२५-०४-२६ , समय : २२:३४:२४ , ३ दिन अगाडि