रुपन्देही खबर , १३० पटक हेरिएको

भैरहवा, वैशाख १०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रुपन्देहीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार राप्रपा जिल्ला अध्यक्ष सागर प्रताप राणाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत ७ बुँदे माग सहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो ।
पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग नागरिक समाज सम्मिलित स्वतन्त्र आयोग गठन, छानबीनका लागि गृहमन्त्रीको राजीनामा, चैत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी र प्रशासनिक नेतृत्वको निलम्बन, मृतकहरु सबिन महर्जन र सुरेश रजकलाई शहीद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था, झुटा मुद्दा खारेजी र निर्दोषहरुको रिहाई, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था तथा पार्टीले पेश गरेको ४० बुँदे माग उपर नवीन समक्षदारीका लागि वार्ता टोली गठनको माग गर्दै ज्ञापनपत्र बुझाइएको राप्रपा रुपन्देहीका सचिव बलराम शर्माले बताउनु भएको छ ।
‘चैत १५ गते तीनकुने कोटेश्वर क्षेत्रमा भएको प्रदर्शनलाई हिंसात्मक बनाउन राज्य पक्षबाट भएको क्रियाकलापप्रति राप्रपा गम्भिर दुःख व्यक्त गर्दछ,’ ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै सभामा भाग लिएको प्रदर्शनमा सहभागी भएको आधारमै राप्रपा नेता रविन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई राज्यविरुद्धको अपराध जस्ता गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्दै ज्ञापनपत्रमा प्रश्न गरिएको छ ।
ज्ञापनपत्र बुझाएपछि राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । धर्नापछि आयोजित सभामा राप्रपाका सहायक महामन्त्री ताहिर अली, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता लगायतले सम्बोधन गर्नु भएको थियो । नेताहरुले मुलुकमा व्यवस्था परिवर्तन गर्न नेपाली जनताले पूर्ण साथ दिने दावी गरेका छन । उनीहरुले मुलुकमा भ्रष्टाचारको सीमा नाघेको बताएका छन ।
प्रकाशित मिति: २०२५-०४-२३ , समय : ०९:५९:२० , १ दिन अगाडि