रुपन्देही खबर , ७५ पटक हेरिएको

महोत्तरी, वैशाख ८
शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३० औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बर्दिवासस्थित विनायक ब्याङ्केटमा विशेष बहुभाषिक सृजनात्मक कार्यक्रम सम्पन्न गरेका छ । कार्यक्रममा प्रतिष्ठानका संरक्षक प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
साहित्यिक योगदानका लागि प्रा.डा. सुमन कर्माचार्यलाई “शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१“ अन्तर्गत रु १५ हजार ५ सय ५५ रुपैया नगदसहित सम्मान गरिएको थियो । । यस्तै, भारतको सितामढीबाट आएका लेखक महमद कामरुदिन नदाफले विशेष क्षमताका दुई विद्यार्थी गरिमा परियार र दिनेश महतोलाई जनही रु ५ हजार ५ सय ५५ रुपैया बराबरको छात्रवृत्ति प्रदान गर्नु भएको थियो ।
साहित्यप्रेमी मिना देवकोटाद्वारा सुस्मिता कट्वाललाई रु २ हजार ५ सय ५५ रुपैयाको छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा मधेस र अन्य प्रदेशहरूबाट आएका साहित्यकारहरूद्वारा विविध भाषा, लय र विधाका कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
वाचनकर्तामध्ये डा. जेनी हेरिङटन, डा. जो जोनसन, बोध कुमार घिमिरे, कुमार कुसुम, मेघराज पौडेल, गोपाल यादव, सुमित्रा आचार्य लगायत रहेका थिए भने सर्जकहरूलाई दिवंगत शिशिर घिमिरेकी आमाद्वारा प्रशंसा पत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथि शारदा थापाले कार्यक्रमले साहित्य स्रष्टाहरूलाई प्रेरणा दिएको धारणा राख्नु भएको थियो । कार्यक्रममा विष्णु खड्का, लम्बोदर काफ्ले, नारायण घिमिरे, गुञ्ज बहादुर कार्की, सरिता ढुङ्गाना, रुद्रसेन विश्वकर्मा लगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो । सञ्चालन नारद काफ्लेले तथा स्वागत शब्द सर्जक भीमकुमार राउतले राख्नु भएको थियो । कार्यक्रमको समापनमा ‘पञ्चामृत’ टेलिभिजन कार्यक्रममा अतिथिहरूको प्रतिक्रिया लिइएको छ, जुन यही शुक्रबार साँझ ५ बजे ओमकार टेलिभिजनबाट प्रशारण हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०४-२१ , समय : ०९:०४:११ , ७ घन्टा अगाडि