रुपन्देही खबर , ९३ पटक हेरिएको

भैरहवा, वैशाख ४
रेबिजको प्रकोप न्यूनीकरण र छाडा कुकुरको संख्या कम गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा बुधबारदेखि एकहप्ते ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा सिद्धार्थनगरले यो शिविर दोस्रोपटक आयोजना गरेको हो ।
छाडा कुकुर बन्ध्याकरणका लागि सन् २०१० देखि नेपालमा काम गर्दै आएको संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग, सिद्धार्थनगर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।
नगर क्षेत्रमा देखापरेका भाले र पोथी छाडा कुकुरलाई नियन्त्रणमा लिई गाडीबाट शिविर स्थलमा ल्याई लठ्याएर बन्ध्याकरण गरिनुको साथै एक वर्षसम्मका लागि हुने गरी रेबिजको भ्याक्सिन (खोप) लगाइदिएपछि कुुकरलाई यथास्थानमै छाडिदिने गरिएको छ । बन्ध्याकरण गरिएको र एक वर्षका लागि रेबिज भ्याक्सिन लगाइएको जानकारीका लागि कुकुरको देब्रे कानमा यु आकारले चिरेर संकेत दिने गरिएको छ ।
हिमालयन एनिमल रेस्क्यु ट्रष्टका संस्थापक तथा सञ्चालक खगेश्वर भट्टराईले शिविर अवधिमा धेरै भन्दा धेरै कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताउनु भएको छ । छाडा कुकुरको संख्या कम गरी रेबिजको प्रकोप न्यूनीकरण गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्षमा यो दोस्रोपटक शिविर आयोजना गरेको हो ।
सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँले नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तर सञ्चालन गरिएको र यसले बजारमा छाडा कुकुर धेरै कम हुँदै गएको बताउनु भएको छ ।
सन् २०३० सम्ममा विश्वबाट रेबिज उन्मुलन गर्ने अभियान सञ्चालन छ । पशु कल्याण निर्देशिका २०७३ ले कुनै पनि कुकुर मार्न नपाइने व्यवस्था गरेको छ । ‘संख्यामा वृद्धि नहुने गरी सबै कुकुर व्यवस्थापन गर्ने नगरको उदेश्य भएको नगरप्रमुख खाँ ले बताउनु भयो । उहाले यस्ता शिविर सञ्चालन गरेर बन्ध्याकरण गरेमा संख्या वृद्धि नहुने जोड दिनु भयो । उहाले कुकुरमा खोप पनि लगाइने भएकाले रेबिजको जोखिम पनि कम हुने बताउनु भयो । उहाले आफ्ना टोलछिमेकमा बन्ध्याकरण नगरिएका कुकुर भएमा नगरपालिकालाई खबर गरी बन्ध्याकरण अभियानलाई सफल बनाउन समेत उहाले नगरबासीलाई आग्रह गर्नु भएको छ ।
प्रकाशित मिति: २०२५-०४-१७ , समय : ०८:३२:४५ , २ दिन अगाडि