लुम्बिनी साँस्कृतिक नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

नगरमा संचालित युवा तथा महिला लक्षित कार्यक्रमहरु उपलब्धी मुलक नभएको गुनासो

उर्मिला यादव यात्री , ८६  पटक हेरिएको

लुम्बिनी, चैत ३०

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख सजरुद्धिन मुसलमानको अध्यक्षतामा शुक्रबार लुम्बिनीको वडा नंम्बर ३ पडरियामा एक कार्यक्रमका बिच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानियले शिक्षामा सुधार ल्याउन आग्रह गरेका छन । उनीहरुले नगरमा युवा तथा महिला लक्षित भएका बिभिन्न कार्यक्रमहरु संचालन भए पनि उपलब्धी मुलक नभएको गुनासो गरेका छन । उनीहरुले लक्षित समुदायका कार्यक्रमहरुमा बजेट सकाउनका लागी मात्र भएको गुनासो गर्दै ति तालिमबाट शुन्य उपलब्धी भएको गुनासो गरेका छन ।

उनीहरुले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, सिंचाई, मल, फोहोरमैला व्यवस्थापन, सार्वजनिक जग्गा अतिक्रमण, संचालित योजनाको अवस्था, जग्गा नापजाँच लगायतका विषयमा भएका बिकृती र समस्याहरु समाधान गर्न आग्रह गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख सजरुद्धिन मुसलमानले नगरको बिकासमा एकबद्ध भएर लागि परेको बताउनु भएको छ । उहाले समग्र लुम्बिनीको बिकासमा नगरपालिका शिक्षा, स्वास्थ्य, बाटोघाटो, खेलकुद, फोहोरमैला ब्यवस्थापनमा लागी परेको बताउनु भएको छ । उहाले लुम्बिनीले विगतमा भन्दा उल्लेख्य प्रगति हासिल गरेको बताउदै नगरको शिक्षामा गुणस्तरियता अभिवृद्धि गर्न आवश्यक पूर्वाधारसंगै शिक्षक, अभिभावकलाई अभिमुखिकरण गर्दै आएको बताउनु भएको छ । उहाले लुम्बिनीको शिक्षामा विगतको नतिजा कमजोर भए पनि आगामी दिनमा धेरै सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले नगरपालिकामा रहेको कृषि क्षेत्रको सिचाईका लागी योजना ल्याएको र सोही अनुरुप काम गर्ने बताउनु भयो । नगरप्रमुख मुसलमानले नगरपालिकाको सबै वडाका स्वास्थ्य केन्द्रमा सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न नगर लागि परेको उल्लेख गर्नु भयो । उहाले नगरको बिकासमा सबैको साथ सहयोग र सबैको प्रयासले मात्र नगर समृद्ध बन्न सक्ने भएककोले सबैको साथ र सहयोगको अपेक्षा गरेको उल्लेख गर्नू भयो ।

यस्तै गरी नगरउपप्रमुख कल्पना हरिजनले लक्षितवर्गका कार्यक्रमलाई प्रभावकारी बनाउन र त्यसको परिणामको लेखाजोखा गर्ने काम निरन्तर भईरहेको बताउनु भएको छ । उहाले नगरबाट संचालित योजनाको प्रभावकारी रुपमा अनुगमन गरि कामको गुणस्तरमा कुनै सम्झौता नगरिने जिकिर गर्नु भयो । उहाले नगरपालिकाले खेलकुदको क्षेत्रबाट स्थानिय खेलाडी उत्पादन गर्न र स्थानिय युवाहरुलाई खेलकुदको क्षेत्रमा अगाडी बढाउनका लागी नगर बिभिन्न किसीमका खेलकुद कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा वडा कपबाट छनोट भएका खेलाडीहरुलाई मेयरकपमा सहभागी गराउने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले लुम्बिनीमा कृषकको बसोबास बढि रहेकाले कृषकहरुको हकहितको लागी नगरले बिभिन्न योजनाहरु ल्याएको बताउनु भएको छ । उहाले किसानको प्रमुख समस्याको रुपमा रहेको मलखादको ब्यवस्थापनमा नगरले पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरी प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले नगरको सुशासन र पारदर्शिता कायम गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेकोले त्यही अनुसार काम गर्दै आएको बताउनु भएको छ । उहाले नगरलाई समृद्ध बनाउन सबैको सकरात्मक सहयोग आवश्यक रहेको जोड दिनु भयो । उहाले नगरमा प्रमुख समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थापनको बिषयमा बिभिन्न निकायसंग सहकार्य गरी रहेको बताउनु भयो । उहाले सार्वजनिक जग्गा अतिक्रमण गर्न पूर्ण रुपमा गलत भएको भन्दै यस बिषयमा अनुगमन गर्ने प्रतिबद्धता गर्दै उहाले आगामी दिनमा नगरमा वडास्तरदेखि पालिकास्तरसम्म तहगत रुपमा खेलकुदका गतिविधि संचालन गर्ने बताउनु भएको छ । उहाले नगर भित्र रहेको भूमि सम्बन्धि समस्या समाधानका लागी सम्बन्धित निकाय संग आवश्यक सहकार्य गरी जग्गा नापजाँचको कामको थालनी गर्ने बताउनु भएको छ । उहाले नगरपालिकामा आउने सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा प्रवाह गर्न प्रतिवद्ध रहेको जोड दिनु भयो ।

नगरपालिकाका समन्वयकर्ता तुल्सीराम लामिछानेको स्वागत मन्तव्य रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष सुरज कलवार, २ का वडाध्यक्ष ईनामुल्लाह फकिर, ३ का वडाध्यक्ष अकरामुद्धिन नाउ मुसलमान, ४ का वडाध्यक्ष बिनोद कुमार श्रीवास्तव, ५ का वडाध्यक्ष खुर्शेद आलम, मुसलमान, ६ का वडाध्यक्ष नइमुल हक मुसलमान, ७ का वडाध्यक्ष ध्रुब यादव, ८ का वडाध्यक्ष राजेन्द्र जैसवाल, ९ का वडाध्यक्ष कमल अख्तर मुसलमान, १० का वडाध्यक्ष बिनोद कहार कार्यपालिका सदस्य रुबिना मुसलमान,समाजसेवी, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०४-१२ , समय : ०९:५३:०२ , १५ घन्टा अगाडि

error: कोपि गर्न पाइदैन