उमा बोटे , ९४ पटक हेरिएको

कावासोती, चैत २९
थारु कल्याणकारिणी सभा नवलपुर र देवचुली नगरपालिकाको समन्वयमा सामाजिक विकास कार्यालय नवलपुरद्वारा आयोजित थारु समुदायको आर्थिक शसक्तिकरण तथा सचेतना अभिवृद्वि सम्बन्धि अभिमुखिकरण साहारा पाटी प्यालेस दलदलेमा सम्पन्न भएको छ । तालिमको उदघाटन गर्नुहुंदै देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले सिप विकास अभिवृद्वि दक्ष जनशक्ति तयार पार्न नगरपालिका सधैव सचेत रहेकोले सोही अनुसारको कार्यक्रम सञ्चालन गर्दै आईरहेको बताउनुभयो ।
सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख कृष्ण प्रसाद पौडेलले सिमान्तकृत, आदिवासी जनजाति, राज्यको मुलधार वाहिर रहेका वर्ग, समुदायको उत्थानको महत्वपुर्ण पक्ष आर्थिक शसक्तिरण भएकोले यो अभिमुखिकरण आयोजना गरिएको बताउनुभयो । बोटे, माझी, मुसहर समुदायका निम्ति आय आर्जन सम्बन्धि कार्यक्रम सञ्चालन गरिसकेको र थारु समुदायको निम्ति दलदलेमा र भोली (विहिवार)चोरमारा गरि दुई स्थानमा अभिमुखिकरण आयोजना गरिएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।
देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले मानव संशाधन विकासको सवालमा आर्थिक सबलिकरण महत्वपुर्ण रहेको बताउनुभयो । कार्यक्रममा गैंडाकोट, देवचुली र कावासोती नगरपालिकाका ८० जना सहभागी रहेको तालिमको सजिकरण उद्यमशिलता विकास अभियान्ता केबी रानाले गरिवी निवारण तथा उद्यमशिलता विकास मार्फत रोजगारी सृजना विषयमा सहजिकरण गर्नुभएको थियो । तालिमको सहजिकरण गर्नुहुंदै प्रशिक्षक रानाले मुलुकको आर्थिक समृद्वि र विदेश पलायन भएका युवा जनशक्तिलाई स्वदेशमै रोक्न उद्यमशिलता विकासको विकल्प नभएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले बढ्दो आत्मा हत्या न्यूनिकरण, साईबर सुरक्षा, सडक सुरक्षा, लैङ्गिक हिंसा लगायतको विषयमा प्रशिक्षण गर्नुभएको थियो । नवलपुरमा बढ्दो सवारी दुर्घटना, आत्मा हत्या, साईबर क्राईम जस्ता सामाजिक विकृति दिनानुदिन बढ्दै गएकाले यसको न्यूनिकरणमा नीति, निर्माता र आम नागरिक सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष तथा थारु कल्याण कारिणी सभा नवलपुरका अध्यक्ष राम प्रसाद महतोले वित्तिय क्षेत्र पहुुंच नहुनाले नवलपुरमा धेरै थारु समुदायका व्यक्तिहरु ठगिन पुगेको बताउनुभयो । वित्तिय साक्षरता र आर्थिक शसक्तिकरण सम्बन्धि सचेतना कार्यक्रम गाउं टोल, टोलमा सञ्चालन गर्नुपर्ने आवश्यक्ता रहेको अध्यक्ष महतोको भनाई थियो । तालिमको सहजिकरण गर्नुहुंदै सामाजिक विकास कार्यालय नवलपुरका लेखा अधिकृत हरि शंकर शर्माले सामाजिक विकास कार्यालयले राज्यको मुल धारमा हरेक वर्ग र समुदायलाई समावेशी ढंगले अवसर प्रदान गर्न विगत देखि नै निरन्तर सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आईरहेको र भावी दिनमा अझै थप कार्यक्रम गर्ने बताउनुभयो ।
प्रकाशित मिति: २०२५-०४-११ , समय : २१:१७:०३ , १ दिन अगाडि