रुपन्देही खबर , १३६ पटक हेरिएको

नवलपरासी, चैत २५
“कोही नहुने र केही पनि नहुने” बालबालिकाको स्थानिय सरकारले अभिभावकत्व निर्वाह गर्ने उदेश्य सहित नवलपरासीको सुनवल १ मा आवासीय भवनको शिलन्यास गरिएको छ । नगरपालिकामा सुविधाविहीन बालबालिकाका लागि आइतबार सुनवल नगरपालिकाको नगर प्रमुख बिमला अर्यालले एक कार्यक्रमका बिच सो भवनको शिलन्यास गर्नु भएको हो । नगरका विशेष महत्वका १० योजना अन्तर्गत नगर भित्रका कोही नहुने केही नहुने पूर्ण रुपमा असहाय बालबालिकाहरूको पालन पोषणदेखि माध्यमिक तहसम्मको शिक्षा समेतको जिम्मा स्थानीय सरकारले लिने गरि बहुबर्षिय योजना अन्तर्गत भवन निर्माण गर्न लागिएको नगरप्रमुख अर्यालले बताउनु भएको छ । बहुबर्षिय योजना अन्तर्गत निमार्ण हुन लागेको भवनको सङ्घीय सरकारको करिब ५ करोडको लागतमा सम्पुर्ण पूर्वाधार तयार गर्ने गरि चालु आ.व मा रु.१ करोड बजेट सुनिश्चित भई काम सुरु भएको हो ।
सुनवल नगरपालिकाले आवास सहित पठन पाठनको जिम्मेवारी लिनेछ भने छिमेकी नगर र जिल्लाहरूले पनि नगर र विद्यालयसँग सम्झौता गरि न्यूनतम शुल्कमा यो सेवा लिन पाउनेछन् । लागत साझेदारी अन्तर्गत सङ्घीय सरकारको विशेष अनुदान र नगरपालिकाको रु ५०÷५० गरि तत्काललाई एक करोड बजेटले काम अघि बढाइने नगरपालिकाले जनाएको छ ।
सतिश गुप्ता एण्ड द कम्पनी परासीले ८३ लाखमा ठेक्का सम्झौता गरी काम अघि बढाएको छ । प्राप्त गरि यही आ।व को असार मसान्त सम्म ५० प्रतिशत सम्पन्न हुने र पुस मसान्तमा यस पटकको ठेक्का सकिने र आगामी वर्ष पुन ठेक्का प्रक्रिया गरि निर्माण लाई निरन्तरता दिने सुनवल नगरप्रमुख बिमला अर्यालले बताउनुभएको छ ।
उहाँले सुनवल नगर क्षेत्र भित्रका असहाय र बेसाहारा बालबालिकाहरूको पढाई लालन पालन, पोसाक लगायतको जिम्मा सुनवल नगरपालिकाले लिने र अन्य पालिका बाट भर्ना हुन आउने लाई सशुल्क भर्ना गरिने उल्लेख गर्नुभयो ।
सुनवल नगरपालिका नेपालको पहिलो बालमैत्री नगरपालिका भएको उल्लेख गर्दै बाल अधिकारका सवालमा संवेदनशील पालिका भएकोले ,सबैका लागि सबै छन् तर असहाय बालबालिकाहरू अझै पनि शिक्षाबाट वञ्चित छन् यही कुरा मनमा लागेर नै हामीले यो योजना ल्याएका हौ नगरप्रमुख अर्यालले भन्नू भयो ।सम्भवतः त्यस्तो प्रकृतिको अवधारणा ल्याउने पालिका नेपालकै पहिलो पालिका भएको अर्यालको भनाई छ ।
सुनवल नगरपालिकाले यस अघि पनि विशेषतः छुट्टै विद्यालयबाट गृहणि र बिचमै पढाइ छाडेका महिलाहरू पढ्ने व्यवस्था मिलाएको छ । पछिल्लो समय सामाजिक सेवा अन्तर्गतका कामहरूमा सुनवल नगरपालिका फरक अभ्यास सहित अघि बढेको छ ।
प्रकाशित मिति: २०२५-०४-०७ , समय : २२:१२:५८ , ४ दिन अगाडि