रुपन्देही खबर , १४५ पटक हेरिएको

भैरहवा, चैत २४
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका प्रमुख दुई दल—एमाले र कांग्रेस नै शिक्षा क्षेत्र बर्बादीको मूल जिम्मेवार भएको बताउनु भएको छ । समाजवादी विद्यार्थी युनियन नेपालको पहिलो राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाले शिक्षा क्षेत्रको दुर्दशा र व्यापारीकरणका पछाडि यिनै दलहरूको विफल नीति रहेको आरोप लगाउनु भयो ।
उहाले भन्नु भयो “शिक्षामा बेथिति ल्याउने काम एमाले र कांग्रेसले गरेका छन्। जनताको पहुँचमा नपुगेको, निजीकरण र व्यापारीकरणतर्फ लम्किएको शिक्षा प्रणालीले देशको समृद्धि होइन, सामाजिक असमानता बढाएको छ ।”
उहाले भन्नु भयो वर्तमान शिक्षा प्रणालीले न त समाजको आवश्यकता पूरा गर्न सकेको छ, न त राष्ट्र निर्माणका लागि आवश्यक जनशक्ति तयार गर्न, “जुन देशमा राजधानीमै शिक्षकहरू आफ्नो अधिकारका लागि सडकमा उत्रन बाध्य छन् त्यो देशमा अरू क्षेत्रमा के अपेक्षा गर्न सकिन्छ ?” उहाले प्रश्न गर्नु भयो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनु भएको यादवले सामाजिक अन्याय र अवसरहीनताले सिर्जिएको असन्तोषले अब शिक्षामा गहिरो सुधारको माग गरेको उल्लेख गर्दै “यो आन्दोलन विद्यार्थीको मात्र नभइ शिक्षाको आन्दोलन भएको जोड दिनु भयो
उहाले शिक्षालाई सर्वसुलभ, समान र गुणस्तरीय बनाउन विद्यार्थी आन्दोलन मात्र पर्याप्त नभई, राजनीतिक इच्छाशक्ति र नीतिगत सुधार आवश्यक रहेको बताउनु भएको छ । शिक्षा व्यवसायीकरणको सट्टा सामाजिक दायित्वको रूपमा लिनुपर्ने उहाको भनाइ छ ।
उहाले विकासको सबैभन्दा ठूलो आधार शिक्षा भएको बताउदै दुनिया बदल्ने सबैभन्दा ठूलो तागत शिक्षा भएको उल्लेख गर्नु भयो । अध्यक्ष्म यादवले जीवनमा परिवर्तन ल्याउन संघर्ष गर्नुपर्ने जोड दिदै निरंकुशताको अन्त्य र लोकतन्त्रका लागि विद्यार्थी अग्रमोर्चामा रहेर आन्दोलनमा होमिएको बताउनु भयो । विद्यार्थी सडकमा उत्रिदा क्रान्ति र परिवर्तन भएको उहाको भनाइ छ । उहाले ३५ वर्षसम्म सरकार चलाएका काँग्रेस–कम्युनिष्टले शिक्षाको विकास गर्न नसकेको दावी गर्नु भयो ।मुलुकमा सुशासन, अर्थतन्त्र सुधार, राम्रो शिक्षा र स्वास्थ्य आवश्यक रहेको र यो काँग्रेस–कम्युनिष्टबाट हुनै नसक्ने दावी गर्नु भयो ।
अध्यक्ष यादवले मजबुत सरकार बनाउँछौं भनेर काँग्रेस–कम्युनिष्ट मिले पनि यो सरकार असफल भएको दावी गर्न‘ भएको छ । उहाले संविधान जारी भएपछि मुलुकमा ९ वर्षमा १३ वटा सरकार बनेको बताउनु भएको छ ।
अध्यक्ष यादवले नेपालको वर्तमान सरकार गठन अघि भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन दिने भने पनि नेपालको इतिहासमा सबैभन्दा धेरै भ्रष्टाचार, कुशासन र लुटतन्त्र अहिले भइरहेको दावी गर्नु भयो ।
यस्तै गरी जसपा नेपालका महासचिव तथा मधेश प्रदेशका संस्थापक मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताउनु भएको छ । उहाले समयसापेक्ष शिक्षा आवश्यक रहेको जोड दिनु भयो । उहाले अधिकारका लागि लड्ने हातलाई मजबुत बनाउन आवश्यक रहेको जोड दिनु भएको छ ।
यस्तै गरी लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवले पार्टी भित्र भएको कमी कमजोरीलाई स्वीकार गर्दै पार्टीले उठाएको मुद्धालाई मुर्तरुप दिन अझै शसक्त रुपमा संगठित हुनुपर्ने बताउनु भएको छ । उहाले पार्टीको मुद्धालाई संबिधानमा संशोधन र स्थापित गर्नका लागी केन्द्रिय कमिटीले गरेको निर्णय अनुसार आन्दोलनमा पार्टीले उठाएको मुद्दा स्थापित गर्नका लागि आन्दोलनमा जान तयार रहेको बताउनु भएको छ ।
यस्तै गरी जसपा लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जसपा नेपाल लुम्बिनी प्रदेशमा एक मजबुत पार्टीको रुपमा अगाडी बढेको बताउनु भएको छ । उहाले दुई तिहाईको सरकारले जनताको समस्या समाधान गर्न नसकेकोे ठोकुवा गर्दै जसपा नेपाल मधेशी, दलित, जनजाती समुदायको हकहित र अधिकारको लागी लडदै आएको जिकिर गर्नु भयो । उहाले जनताको अधिकार स्थापित गर्न सक्ने पार्टी नै जसपा नेपाल भएको बताउनु भयो । उहाले जसपा नेपालले दुई दलीय व्यवस्था नमान्ने जिकिर समेत गर्नु भयो ।
यस्तै गरी जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले उपेन्द्र यादवले दुई तिहाइको सरकारलाई आफनो अडानमा रहेर घुडा टेकाउन सफल भएको बताउनु भएको छ । उहाले उत्पीडित समुदायलाई अधिकार दिलाउन र मधेशी समुदायको बिकास र उत्थानका लागी जसपा नेपाल अघि बढेको समेत बताउनु भएको छ ।
जसपा नेपालको केन्द्रिय सदस्य रिता यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका सह–संयोजक संजय राई, समाजवादी युवा संघ नेपाल केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज रेनु सिंह, जसपा नेपाल नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादव, जसपा नेपाल कपिलबस्तु जिल्ला अध्यक्ष शैलेन्द्र यादव, जसपा नेपालको उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य रेखा यादव, जसपा नेपालका युवा नेता कैलाश गुरुङ, जसपा नेपालका केन्द्रीय सदस्य अशोक यादव, जसपा केन्द्रीय सदस्य तथा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, जसपा नेपालका महासचिव रामकुमार शर्मा, पार्टीका केन्द्रीय सदस्य विन्देश्वर यादव (बिक्की), जसपा नेपालका केन्द्रीय सदस्य बलराम महतो लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन महाधिवेशन आयोजक समिति सचिव मनिष यादव र समाजवादी विद्यार्थी युनियनका सचिव राहुल यादवले संचालन गर्नु भएकोे थियो ।
समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक रमेश यादवको अध्यक्षता, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा पहिलो राष्ट्रिय अधिवेशन सुरु भएको हो । अधिवेशन आज आइतबारसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मिति: २०२५-०४-०६ , समय : १४:०८:३८ , १ दिन अगाडि