कुवेत पुगेका महिला शोषणमा, प्रमाणको अभावमा न्याय पाउन वञ्चित

उर्मिला यादव NIMJN , १४६  पटक हेरिएको

भैरहवा, चैत १९

रूपन्देहीकी हरिमाया (परिवर्तित नाम) असोज २७, २०७९ मा घरेलु कामका लागि यूएईको दुबई हुँदै कुवेत पुगिन् । भारत घर भई बुटवलमा बस्दै आएका रोशन खानमार्फत साढे २ लाख खर्च गरेर दुबईका लागि भनेर हिँडेकी उनलाई एजेन्टले कुवेत पुर्‍याएका थिए ।

तर कुवेतमा पुगेकी उनले त्यहाँ काम गर्ने घरका मालिकले पटक–पटक बलात्कार गरेको, कुटपिट गरेको र नांगो शरीरमा तातो भातले डाम्ने गरेको यातना सहनुपर्‍यो । अर्काको देशमा बलात्कृत भएर बस्न सक्दिँन घर फर्काइदेऊ भन्दा उनै रोशनले ५ लाख रुपैयाँ मागेको हरिमायाले बताइन् । नेपालमा रहेका आफन्तले डेढ लाख रुपैयाँ बुझाएको र बाँकी साढे ३ लाख रुपैयाँ नेपाल फर्केपछि दिने सर्तमा रोशनले आफूलाई २ महिनापछि मंसिर ४, २०७९ मा नेपाल झिकाएकोे हरिमाया बताउँछिन् ।

घर फर्केपछि हरिमायाले रोशनविरुद्ध रूपन्देही जिल्ला अदालतमा मानव बेचबिखनको मुद्दा दायर गरेकी थिइन् । जसमा अदालतले रोशनलाई सफाइ दिएको छ ।

आफ्नो परिवारको पालनपोषणका लागि भन्दै घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा गएर सस्यामा पर्ने हरिमाया त एक उदाहरण मात्र हुन् । उनीजस्ता धेरै महिलाले घरेलु कामदारका रूपमा विदेश जाँदा मानसिक तथा शारीरिक यातना भोग्नुपरेको छ । विदेश जानका लागि मात्रै होइन, काम गर्न नसकी बीचमै फर्किंदा पनि दलाललाई लाखौं रुपैयाँ बुझाउनुपरेको छ । प्रमाणको अभावमा उनीहरू न्याय र क्षतिपूर्ति पाउनबाट पनि वञ्चित हुनुपरेको छ ।

यस्तै समस्या भोगेकी रूपन्देहीकी फूलकुमारी (परिवर्तित नाम) भन्छिन्, “४५ वर्षमा नपाएको दुःख मैले ४० दिनमा पाएँ ।”

४५ वर्षको उमेरमा उनी घरेलु कामदारका रूपमा काम गर्न साउन, २०८० मा काठमाडौंबाट ओमान हुँदै कुवेत पुगेकी थिइन् । कुवेतमै रहेकी छिमेकी महिलाले ‘काम राम्रो छ, तपाईं पनि आउनुहोस्’ भनेपछि गरगहना बेचेको र ५० हजार रुपैयाँ ऋण काढेको पैसाले कुवेत उडेकी थिइन् । नेपालगन्जकी ज्ञानु भन्ने एजेन्टले ५० हजार रुपैयाँ लिएर कुवेत पठाएको उनी बताउँछिन् ।

तर कुवेत पुगेपछि उनले न त भनेको तलब पाइन, न त भनेको काम नै । मासिक १२० कुवेती दिनार तलब पाउने सर्तमा गएकी उनलाई त्यहाँ पगेपछि ९० केडी मात्र पाउने भनियो । र, पनि उनी त्यसलाई स्वीकार गरेर काम गर्न तयार भइन् ।

उनी जहाँको कामका लागि भनेर गएकी थिइन्, त्यहाँ १५ दिन मात्र काम गरिन् । त्यसपछि उनलाई कुवेतमै एजेन्टले हरेक १५ दिनमा काम गर्न एक ठाउँबाट अर्को ठाउँ गर्दै सारिरहे । एउटा ठाउँमा १५ दिन मात्र काम गरेपछि उनले तलब पनि पाइनन् । “काम गर्ने घरमा खान चाहिँ दिन्थे, त्योबाहेक केही पनि पाइनँ,” फूलकुमारीले भनिन् ।

आफूले पाएको दुःखबारे परिवारलाई बताउनसमेत नसकेको उनी बताउँछिन् । “परिवारसँग मोबाइलबाट कुराकानी गर्न त दिन्थे, तर उनीहरूकै अगाडि लाउड स्पिकरमा बोल्नु पथ्र्यो,” उनी भन्छिन्, “उनीहरूले दुःख दिएको कुरा बताए झनै दुःख पाइएला भन्ने ठानेर मैले भन्नै सकिनँ ।”

प्रमाणको अभावमा मुद्दा दर्ता गर्न समस्या

तलब नै नपाउने र कामको ठेगान नै नहुने भएपछि फूलकुमारीले घर फर्कने निधो गरिन् । तर त्यहाँका एजेन्टले ३ लाख रुपैयाँ लाग्ने बताए ।

“आफूसँग त्यत्रो पैसा नभएको र घरको आर्थिक अवस्था कमजोर भएकोले तिर्न नसक्ने बताएपछि उनीहरूले १ लाख ५० हजार रुपैयाँमा मलाई नेपाल फर्काए,” उनले सुनाइन् । वैदेशिक रोजगारीको बहानामा आफू विदेशी भूमिमा बेचिएको र ठगिएको बताउने उनी विदेश जाँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छिन् ।

नेपाल आएपछि उनले कुवेत पठाइदिने नेपालगन्जकी एजेन्ट ज्ञानु खोजिन्, तर भेटिनन् । “म पढ्न लेख्न नजान्ने मान्छे, नाम ठेगाना सबै टिपेर राखेको थिइनँ,” फूलकुमारीले भनिन्, “साथीसँगबाट भेट भएको थियो, फर्केर आएपछि त भेट्नै सकिनँ ।”

उनले नेपालमा आएपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी पनि गरिन् तर आफूमाथि भएको ठगी र शोषणका विरुद्ध कुनै प्रमाण नभएकाले कारबाही अघि बढ्न सकेन ।

हरिमायाकै मुद्दामा पनि रोशनसँगै सरस्वती पुन, विष्णु परियार, अरमान भन्ने भारतीय नागरिक र चन्द्र गुरुङ प्रतिवादी पोलमा थिए । तर उनीहरूको नामबाहेक अरू कुनै जानकारी थिएन ।

उनीहरूको हकमा यकिन नाम, थर, वतनसमेत खुली आएका बखतमा कानुनबमोजिम गरिने भन्ने बेहोरा उल्लेख गर्दै कुनै अभियोग पत्र नै दर्ता गरिएन ।

जबकि प्रतिवादी रोशनले हरिमायालाई अरमानसँग भेट गराएको र अरमान र उसकै मान्छे चन्द्र गुरुङसहितले उनलाई विदेश पठाएको र पछि पैसा लिएर नेपाल झिकाएको बयान दिएका थिए ।

जेठ, २०८० मा जेठमा वैदेशिक रोजगारीका लागि कुवेत गएकी रूपन्देहीकै सानुमाया (परिवर्तित नाम) तीन महिना चार दिनमा नै नेपाल फर्किइन् । उनलाई पनि नेपाल फर्काउन परिवारले पैसा तिर्नुपरेको थियो । तर पनि प्रमाणको अभावमा उनले पनि न्याय पाउन सकिनन् ।

रूपन्देहीको कञ्चन गाउँपालिका–३ हरैयाका राज थापाले फ्री भिसा फ्री टिकटमा पठाउने भने पनि श्रम स्वीकृतिका लागि भनेर ३० हजार रुपैयाँ लिएर कुवेत पठाएको सानुमायाले बताइन् ।

कुवेतमा घरेलु काम गर्नुपर्ने र मासिक ११० केडी (साढे ४६ हजार रुपैयाँ) तलब पाउने भनिए पनि आफूले भनेअनुसार काम र सुविधा नपाएको उनी बताउँछिन् । उनले काम मात्रै गराउने र आरामका लागि २ घण्टा मात्र सुत्न पाएको बताइन् ।

“धेरै दुःख र यातना सहेपछि बस्न मन लागेन बरु नेपाल फर्किछु भन्दा पनि त्यहाँबाट आउन दिएनन्,” उनले भनिन्, “साढे २ लाख नेपाली रुपैयाँ दिएपछि मात्र नेपाल जान दिने भनेर कुवेतीहरूले मलाई बन्धक बनाएका थिए ।  परिवारले नेपालबाट पैसा पठाएपछि भदौ, २०८० मा नेपाल फर्केको उनी बताउँछिन् ।

कुवेत पठाउने र कुवेतबाट झिकाउने मान्छेलाई हातमा नगदै दिएकाले प्रमाण नहुँदा कतै उजुरी गर्न नसकेको उनले बताइन् । कुवेत पठाउने राज थापासँग  मोबाइलमा कुराकानी हुने गरेको र अहिले त्यो नम्बर पनि आफूले हराएकाले सम्पर्कमै पुग्न नसकेको सानुमायाले सुनाइन् । उनी कुवेत जाँदा र आउँदाको खर्च आफूले माया मारेको पनि बताइन् । “धन्न बाँचेर फिर्ता आइयो, मेरा लागि यो नै ठूलो कुरा भयो,” उनले भनिन् ।

प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार नेपालमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितले सुरक्षाको अनुभूति नगरेकाले धेरै मानव बेचबिखनका घटना प्रहरीमा दर्ता नै हुँदैनन् ।

समाजको डर, अशिक्षा र उजुरी गर्ने निकायबारे जानकारी नहुँदा यस्ता मुद्दा सम्बन्धित निकायसम्म नआएको उनी बताउँछिन् । उनी भन्छिन्, “मानव बेचबिखनका घटना हुने भए पनि त्यसको केही मात्रामा मात्र प्रहरीसम्म पुग्ने गर्दछन् ।”

खनालका अनुसार अहिले वैदेशिक रोजगारीका क्रममा बेचबिखन मात्र नभई मानव ओसारपसार पनि उत्तिकै भएको पाइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ भएकाले अहिले भारतीय नाकाबाट खाडी मुलुकमा जाने गरेको उनको दाबी छ ।

भारत हुँदै कुवेतको यात्रा

अझै पनि कतिपय महिला घरेलु कामदारका रूपमा श्रमस्वीकृति नगरी अवैधानिक तरिकाबाट भारतीय बाटो हुँदै तेस्रो देशमा गएको पाइन्छ । यसको एक उदाहरण हुन्– ओखलढुंगाकी चन्दा (परिवर्तित नाम)  ।

भारतको बाटो हुँदै कुवेत जान लाग्दा उनलाई शान्ति पुनर्स्थापना गृहका कर्मचारीले बुटवलबाट उद्धार गरेका थिए । “शान्ति गृहले उद्धार नगरेको भए आज म कहाँ र कुन अवस्थामा हुन्थे मलाई नै थाहा छैन,” आफ्नै गाउँमा रहेकी चन्दाले फोनमा सुनाइन् ।

२२ वर्षकी उनी सामान्य परिवारमा जन्मिएकी हुन । उनको घरमा आमा बुबासहित ९ जनाको परिवार छ । घरमा उनको बुवा मात्र कमाउने र घरको आर्थिक अवस्था कमजोर भएकाले उनी कामको खोजीमा थिइन् । १२ कक्षासम्म अध्ययन गरेकी चन्दाको भेट ओखलढुंगाकै खिजीदेम्बा गाउँपालिका– १ घर भएर भक्तपुरको ठिमीमा बस्दै आएका ३२ वर्षीय प्रकाश रोकासँग हुन्छ । प्रकाशलाई आफूले कामको खोजीमा रहेको बताएपछि उनले नै विदेश पठाउने भन्दै पासपोर्ट बनाउन लगाएको चन्दा बताउँछिन् ।

पासपोर्ट बनाइसकेपछि प्रकाशले चन्दालाई कास्कीको पोखरा महानगरपालिका–१६ घर भएर हाल भारतको दिल्लीमा बस्दै आएकी सन्ध्या खत्री गुरुङसँग काठमाडौंमा भेट गराएका थिए ।

सन्ध्याले नै कामका लागि कुवेत पठाउने भनेपछि चन्दाले उनलाई पासपोर्टसँगै २० हजार रुपैयाँ दिइन् । केही दिनपछि सन्ध्याले भिसा आयो भनेर चन्दालाई खबर गरेकी थिइन् ।

“काठमाडौंबाट टिकट बन्द रहेछ, भारतको बाटो भएर जानुपर्ने भयो भनेर मलाई उनीहरूले रूपन्देहीको बुटवलसम्म बोलाएका थिए,” चन्दाले भनिन् । चन्दालाई ‘कसैले बाटोमा सोधेमा भारतमा बस्ने दिदी गर्भवती भएकाले स्याहार गर्न जान लागेको भन्नू’ भनेर सन्ध्याले सिकाएकी थिइन् ।

रूपन्देहीको बुटवलबाट नेपाल–भारतमैत्री गाडी चढेर भारतको दिल्ली हँुदै कुवेत जान लागेको बेला चन्दालाई शान्ति पुनर्स्थापना गृहका कर्मचारीले शंका लागेर सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनी कुवेत जान लागेको खुलेपछि उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह रूपन्देहीका प्रमुख नितेश चौधरीले बताए ।

चौधरीका अनुसार घरेलु श्रमिकका रूपमा काम गर्न भारत हुँदै खाडीका देशमा जानेहरू बसबाटै भारत जाने गरेको पाइन्छ । गृहका कर्मचारीले भारत जाने गाडीमा बुटवलदेखि नै निगरानी गर्ने र शंका लागेकालाई सोधपुछ गर्ने गरिएको चौधरी बताउँछन् । सीमाक्षेत्रमा महिला तथा बालबालिकाको ओसारपसारमा गृहका साथै माइती नेपाल, आफन्त नेपाललगायतका संस्थाले पनि निगरानी गर्ने गरेका छन् ।

चन्दाको उद्धारपछि असोज ३०, २०८० मा सन्ध्या र प्रकाशविरुद्ध जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा मानव बेचिबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता भएको छ । दुवै फरार भएकाले खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले चैत, २०७३ मा गन्तव्य देशले घरेलु कामदारसम्बन्धी ठोस कानुन नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रमसम्झौता नगरेसम्म घरेलु कामदार नपठाउन सरकारलाई निर्देशन दिएको थियो । त्यसपछि सरकारले नेपाली महिलालाई घरेलु कामदारका रूपमा पठाउन बन्द गरेको थियो ।

त्यसपछि खाडीका देशमा भारत वा अन्य देशको बाटो हुुँदै नेपाली महिला श्रमिक कामका लागि जाने गरेका नेपाली श्रमिकको हकहितमा काम गर्दै आएका हरिकृष्ण न्यौपाने बताउँछन् ।

घरेलु कामदारको रूपमा जान सरकारले प्रतिबन्ध लगाए पनि घरेलु कामदारका रूपमा जाने संख्यामा कमी आउन सकेको छैन । २४ सै घण्टा काम गर्नुपर्ने, सुरक्षा नहुने, समस्या परे पनि बुझ्ने कोही नहुँदा घरेलु कामका लागि खाडी मुलुक राम्रो नभएको उनी बताउँछन् ।

वैदेशिक रोजगारी भनेर खाडी मुलुुक कुवेत, यूएई, ओमनलगायतका देशमा जाने धेरैजसो महिला भारतको बाटो वा अन्य मुलुकको बाटो भएर जाने हुँदा कुनै तथ्यांक र रेकर्ड पाइँदैन । श्रम स्वीकृति नगरीकन अवैध रूपमा जाने उनीहरू नै बढी समस्यामा पर्ने गरेको र रेकर्ड नहुँदा उद्धारमा पनि समस्या हुने गरेको सुरक्षित आप्रवासी स्रोत केन्द्र रूपन्देही जिल्ला कार्यक्रम संयोजक सीता पन्थ बताउँछिन् ।

कुवेतबाट १० वर्षमा ४ सय ४८ जनाको उद्धार

कुवेतमा वैदेशिक रोजगारीको सिलसिला गएर अलपत्र परेका महिलालाई प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले उद्धारका लागि पहल गर्दै आएको छ ।

पछिल्लो १० वर्षमा कुवेतबाट ४ सय ४८ जना महिलाको उद्धार गरिएको पीएनसीसीका एड्भाइजर कुलप्रसाद कार्कीले जानकारी दिए ।

दैनिक १८ देखि २२ घण्टासम्म काम गराउने, नियमित खाना नपाउने, सानोतिनो काम बिग्रिँदा कुटपिटमा पर्ने, बलात्कार, तलब नदिने, घरभित्रै थुनेर राख्नेलगायतका समस्या भोगेको पाइएको उनले बताए ।

(यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो । -सम्पादक ।)

https://www.nimjn.org/259/women-who-arrived-in-kuwait-are-exploited-deprived-of-justice-due-to-lack-of-evidence?fbclid=IwY2xjawJYpclleHRuA2FlbQIxMQABHV9ojGP9HfM74lgImBk84tQZ3hTLwUnkiH2Tu34qukkbxOdmINdDhJX8wg_aem_a9nNezmv_6Mlg2SVvwTBqQ

प्रकाशित मिति: २०२५-०४-०१ , समय : १६:१६:५१ , २ दिन अगाडि

error: कोपि गर्न पाइदैन