पत्रकार रजकको हत्या र मिडिया हाउसमाथिको आक्रमणको विरोधमा नवलपरासीमा विरोध सभा

मेघराज गौतम , १५३  पटक हेरिएको

नवलपरासी, चैत १६

नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन गरेको छ। महासंघको ७१औँ स्थापना दिवसको पूर्वसन्ध्यामा पत्रकार रजकको हत्या भएपछि वार्षिकोत्सवलाई विरोध सभामा परिणत गरिएको हो । महासंघ केन्द्र संगै महासंघका प्रदेश समिति र ७७ वटै जिल्ला शाखाहरूले पनि पत्रकार रजकको हत्या तथा पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाले पनि आज शनिबार सदरमुकाम परासीमा विरोध सभा गरेको छ । परासी लोकतान्त्रीक चोकबाट सुरु भएको सभा बुद्धचोकमा पुगेर कोणा सभामा परिणत भएको थियो । महासंघको कार्यक्रममा नागरिक समाज, पेशाकर्मी राजनितिज्ञ लगायतले पनि एक्वद्धता जनाएका छन् । लोकतान्त्रीक चोकबाट सुरु भएको विरोध र्यालीमा पत्रकारहरुले पत्रकार सुरेज रजकको हत्यारालाई कारवाही गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, पत्रकार र मिडिया हाउस माथीको आक्रमण बन्द गर जस्ता प्लेकार्ड बोकेका थिए । कार्यक्रमा बोल्दै प्रदेश सभा सदस्य वैजनाथ जयसवालले राजालाई संविधान मानेर राजनितिमा आएर स्थापित हुन चुनौती दिनुभयो । संगै राजवादी भनिने दलहरुतर्फ ईंगित गर्दे उहाँले जनताबाट चुनिएर संसदमा पनि आउने, सत्तामा बस्ने र ह्रिसंक आन्दोलन गर्ने कार्य स्वीकार्य नहुने भन्दै राजतन्त्रको विषय बुलेटले नभई व्यालेटले निर्धारण गर्ने बताउनुभयो ।

नेपाल बार एसोसियसन नवलपरासीका सचिव भवराज पाण्डेले स्वतन्त्र प्रेसमाथीको आक्रमण किमार्थ स्वीकार्य नहुने बताउनुभयो । उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष गिरीराज पाण्डेले मिडिया हाउस र मिडियाकर्मी माथी आक्रमण गर्ने र हिंसा प्रर्दशन गरेर राजतन्त्र ल्याउने सपना नदेख्न आग्रह गर्नुभयो । नागरिक समाजका पुर्व अध्यक्ष शम्भु उपाध्याय र नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवालीले तिनकुने क्षेत्रमा भएको घटना निन्दनिय रहेको बताउनुभयो ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष केशव पराजुलीले पत्रकार महासंघको आन्दोलनमा सबैलाई होमिन आह्वान गर्नुभयो । उपाध्यक्ष बिकास अधिकारीले कुनै बेला समाचार कक्षमा सैनिकका कर्णेल सम्पादकका रुपमा हतियार सहित आउने गरेको स्मरण गर्दै राजतन्त्र पक्षधरहरुले नेपाली प्रेस जगतलाई त्यस्तै सोचेका हुन् कि भन्दै सचेत गराउनुभयो । महासंघले भोली कालोपट्टि बाँधेर काम गर्न सबै पत्रकारहरुलाई आह्वान गरेको सचिव अनिल यादवले जानकारी दिनुभयो । यसैबिच नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

प्रकाशित मिति: २०२५-०३-२९ , समय : २०:४७:५४ , ३ दिन अगाडि

error: कोपि गर्न पाइदैन