राजावादी र सुरक्षाकर्मीबीच झडपपछि काठमाडौंको तीनकुने क्षेत्र तनावग्रस्त

रुपन्देही खबर , १६८  पटक हेरिएको

काठमाडौं, चैत १५

काठमाडौंको तीनकुने क्षेत्र राजावादी र सुरक्षाकर्मीबीच झडपपछि तनावग्रस्त बनेको छ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको प्रदर्शन र सभा बिथोलिएपछि स्थिति थप बिग्रिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीको नेतृत्वमा राजावादी समूहले तीनकुनेमा प्रदर्शन गरेको थियो । आन्दोलनलाई जनपरिचालन गर्न जिम्मेवारी पाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरक्षाकर्मीको घेरा तोड्दै गाडी हुइँक्याएपछि तनावको अवस्था सिर्जना भएको हो ।

विरोध सभा शुरू हुँदै गर्दा तीनकुनेबाट नयाँ बानेश्वरतर्फ जान खोजेका प्रसाईंको गाडीलाई प्रहरीले रोकेपछि प्रदर्शनकारीहरू आक्रोशित बनेका थिए । सुरक्षाकर्मीको अवरोधपछि उनीहरूको नाराबाजी चर्किएको थियो । स्थिति थप बिग्रँदै जाँदा राजावादी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको हो । प्रदर्शनकारीले तीनकुनेस्थित निर्माणाधीन कम्प्लेक्समा तोडफोड र आगजनी गरेका छन् । यसैगरी कतिपय घरमा आगजानी गरेको पनी खुलेको छ ।

झडपका क्रममा दुवै पक्षबाट दर्जनबढी घाइते भएको छन । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । झडपपछि तीनकुने क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लिएको छ । प्रहरीको विशेष टोलीलाई तैनाथ गर्दै संभावित जोखिम रोक्न व्यापक निगरानी सुरू गरिएको छ । यता, प्रदर्शनकारीहरूले राजसंस्था पुनःस्थापनाको मागलाई बलियो बनाउन आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति: २०२५-०३-२८ , समय : १९:०५:२१ , ३ दिन अगाडि

error: कोपि गर्न पाइदैन