रुपन्देही खबर , ५९ पटक हेरिएको

बारा,चैत १३
बाबु पक्राउ पर्ने डरले मानसिक यातना सहन नसकेर एसईई दिदै आएकी किशोरीले आत्महत्या गरेकी छिन् । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईन निवासी रामदिन चौरसियाकी १६ वर्षीया छोरी गुञ्जा चौरसियाले सोमबार आत्महत्या गरेकी हुन् ।गत फागुन १५ गते किशोरीका बुवा रामदिन चौरसिया र रामानन्द यादव बिच जग्गा सम्बन्धी विवाद भएको थियो । विवादका कारण यादवले रामदिन चौरसियाविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा कुटपिट उजुरी दर्ता गराएका थिए । उजुरी दर्ता पछि चौरसिया फरार भएका थिए ।उनी फरार भएपछि बारम्बारको दबाब र प्रहरी तथा वडा अध्यक्षको मानसिक यातना सहन नसकी किशोरीले आत्महत्या गरेको उनका परिवारजनले आरोप लगाएका छन् ।
बाबु फरार भएपछि घरमा १६ वर्षीया किशोरीसहित तीन बालबालिका मात्र बस्दै आएका थिए । चौरसियालाई पक्राउ गर्न प्रहरी र वडा अध्यक्ष गेनालाल राउत अहिर दिनमा तीन–चार पटक चौरसियाको घर पुग्ने गरेको स्थानीय बताउछन् । सोही मानसिक यातना सहन नसकेर किशोरी सोमबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको थिइन । मृतक किशोरीका आफन्तजन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका नेता तथा कार्यकर्ताहरूले भरत चोकमा शवसहित प्रदर्शन गरेका हुन् ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईन निवासी १६ वर्षीया गुञ्जा चौरसियालाई न्याय दिनुपर्ने मागसहित बाराको कलैयामा बालिकाको शवसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी विरूद्ध चर्को नाराबाजी गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा रास्वपा बाराका चन्दन सरार्फले मृतक किशोरीलाई न्याय दिन र उनलाई मानसिक यातना दिनेहरूमाथि कडा कारबाही गर्न माग गरेका छन् । बारम्बारको दबाब र प्रहरी तथा वडा अध्यक्षको मानसिक यातना सहन नसकी किशोरीले आत्महत्या गरेको प्रदर्शनकारीहरूको दाबी छ ।
मृतक किशोरी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी थिइन् र उनले अंग्रेजी, नेपाली र गणित विषयको परीक्षा दिइसकेकी थिइन् । फागुन १५ गते किशोरीका बुवा रामदिन चौरसिया र रामानन्द यादवबीच जग्गा सम्बन्धी विवादका कारण झगडा भएर बाबु पक्राउ पर्ने डरले आत्महत्या गरेको कतिपयको बुझाइ छ । बाराका प्रहरी प्रमुखका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २०२५-०३-२६ , समय : १०:२७:५४ , ७ दिन अगाडि