रुपन्देही खबर , १३४ पटक हेरिएको

मर्चवार, चैत ९
मर्चवार प्रेस क्लब रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा बोल्दै प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राधेश्याम कुर्मीले देशमा सुशासन कायम गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाले पत्रकारले इमान्दारिताका साथ भ्रष्टाचारविरुद्ध कलम चलाए भ्रष्टाचारीको मनोबल कम हुनको साथै मुलुकमा पारदर्शीता कायम हुने विश्वास व्यक्त गर्नु भएको छ । उहाले पत्रकार देशको चौथो अंग भएकोले पत्रकारिता कमजोर भए देशको अवस्थामा पनि असर पुग्ने बताउनु भएको छ । उहाले केही पार्टी तथा व्यक्तिविशेष पत्रकारिताले निष्पक्ष पत्रकारीतामा असर पुगेको समेत बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि मधेशी पत्रकार समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान कार्यसमिति सदस्य राम विकास चौधरीले बढदो आधुनिकताका साथ पत्रकारिताको शैलीमा पनि परिवर्तन आवश्यक रहेको बताउनु भएको छ । उहाले ‘छिटो सम्प्र्रेषण गर्ने नाममा अधुरो जानकारीसहितको समाचारले समाज र पत्रकारितालाई समेत नकारात्मक असर गर्ने भएकोले पत्रकार र पत्रकारिता दुवैलाई प्रभावकारी बनाउने गरी समाचार लेख्न आग्रह गर्नु भयो ।
क्लबको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्लबका अध्यक्ष हृदयराम गुप्ताले पत्रकारहरुको हकहितसँगै पत्रकारिताको मर्यादालाई पनि व्यवस्थित बनाउने बताउनु भएको छ । ग्रामीण क्षेत्रमा पत्रकारितामा धेरै चुनौती रहेको बताउँदै उहाले ग्रामीण क्षेत्रमा अझ सजक, जिम्मेवारी तथा लगनशीलताका साथ काम गर्नुपर्ने बताउनु भएको छ । क्लबमा आबद्ध पत्रकारहरुको लेखनशैली, क्षमताको अभिवृद्धिसँगै व्यवसायिक पत्रकारीतालाई प्रवद्र्धन गर्ने अध्यक्ष गुप्ताले बताउनु भयो ।
वार्षिक साधारण सभामा क्लबका कोषाध्यक्ष जैस मोहम्मद खानले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नू भएको थियो भने क्लबका सचिव मोहम्मद असलम खाँले कार्यक्रमको सञ्चालन गर्नू भएको थियो ।
अध्यक्षमा पुनः गुप्ता
शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्ष पदमा हृदयराम गुप्ता पुनः सर्वसम्मत निर्वाचित हुनु भएको छ । अध्यक्षमा निर्वाचित गुप्ता नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य समेत हुनुहुन्छ । निर्वाचन समिति संयोजक राधेश्याम कुर्मीका अनुसार क्लबको उपाध्यक्षमा सुमन कुमारी कलवार, सचिवमा मोहम्मद असलम खाँ, सह–सचिवमा सीताराम चौधरी र कोषाध्यक्षमा जैस मोहम्मद खाँ निर्वाचित हुनु भएको छ ।
त्यस्तै सदस्यमा सुकई कोहार, दीपक कुमार कलवार, अवधेश विश्वकर्मा र दिनेश प्रसाद लोध रहनु भएको छ ।
प्रकाशित मिति: २०२५-०३-२२ , समय : २२:२८:१६ , १ हप्ता अगाडि