रुपन्देही खबर , १५२ पटक हेरिएको

भैरहवा, चैत ९
जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले काँग्रेस–कम्युनिष्टको हातमा शासन र शक्ति रहेसम्म यो देशको विकास हुन नसक्ने दावी गर्नु भएको छ । उहाले नेपालमा धेरै सम्भावना र संसारकै विकसित देश बन्ने आधार हुँदाहुँदै पनि काँग्रेस–कम्युनिष्टकै कारण देशको अवस्था यस्तो भएको जिकिर गर्नु भयो ।
जसपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताउनु भएको हो । उहाले विगत ३५ वर्षदेखि यो मुलुकको शासन गरेका काँग्रेस–कम्युनिष्टले देशको अर्थतन्त्र धरासायी बनाएको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न नसकेको आरोप लगाउनु भयो । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएको यादवले काँग्रेस–कम्युनिष्टको शासनमा भ्रष्टाचार र कमिशनतन्त्र बढेको समेत आरोप लगाउनु भएको छ । जनता शिक्षित र स्वस्थ भए मात्र मुलुक विकसित हुने उहाको भनाइ छ ।
अध्यक्ष यादवले नेपालको अर्थतन्त्र मजबुत बनाउन कृषिको विकास आवश्यक भएको बताउदै किसानको जीवनस्तर नउठाएसम्म गरीबीको अन्त्य नहुने दाबी गर्नु भयो । उहाले उद्योग, कलकारखानाले रोजगारी दिन्छ । तर त्यो पनि बन्द छ, शिक्षा र स्वास्थ्यमा व्यापार भइरहेको छ । काँग्रेस–कम्युनिष्टको गलत नीतिकै कारण यस्तो अवस्था आएको बताउनु भयो । अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, पर्यटन र जलस्रोतको विकास गरी देशबाट गरीबी हटाउन सकिने जसपा नेपालको धारणा रहेको बताउनु भएको छ । उहाले विगतमा भएका आन्दोलनहरुले स्वतन्त्रता र अधिकार दिए पनि समानता भने हुन नसकेको जोड दिनु भयो । लोकतन्त्र भनेको नागरिक स्वतन्त्रता मात्र होइन समानता पनि हो, उहाले भन्नु भयो । उहाले समानताका लागि सबैलाई बराबर अधिकार दिनुपर्ने र भेदभाव हटाउनुपर्ने बताउनु भएको छ ।
त्यस्तै पार्टीका महासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्माले वर्तमान सरकार सम्पूर्ण मोर्चामा असफल हुँदै गएको दावी गर्नु भएको छ । उहाले सरकार गठन अघि गरिएको प्रतिवद्धताबाट प्रधानमन्त्री केपी शर्मा ओली पछाडि हटेको बताउनु भयो । लुम्बिनी प्रदेश सभा सदस्य तथा जसपा नेपालकी नेतृ अम्बिका काफ्लेले संविधानमा भएका अधिकार पूर्ण रुपमा अझै पनि कार्यान्वयन हुन नसकेको बताउनु भएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सावित्रा वि.क., लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष रामअवतार यादव, प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिका, रुपन्देहीका अध्यक्ष विद्या प्रसाद यादव, जसपा नेपाल पश्चिम नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, समाजवादी विद्यार्थी युनियन नेपालका सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादव लगायतले आ आफनो मन्तब्य राख्नु भएको थियो । जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता, जिल्ला उपाध्यक्ष कलामुद्दीन खाँको स्वागत तथा सचिव विष्णु प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश गुरुङ, निलम यादव सहित विभिन्न पार्टी परित्याग गरी २ सय जना भन्दा बढी जसपा नेपालमा प्रवेश गरेका छन ।
प्रकाशित मिति: २०२५-०३-२२ , समय : २२:१०:५७ , १ हप्ता अगाडि