रुपन्देही खबर , १५५ पटक हेरिएको

भैरहवा, चैत ८
सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकाहरु मध्येबाट उत्कृष्ट बनेको छ । नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०÷०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेकोले सोको मूल्यांकन गर्दै सिद्धार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको हो ।
संघको ३२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नगरप्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार–२०८१ बाट सम्मान गर्नु भएको छ । संघले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकाहरुमध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा संघले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुशी लागेको नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले बताउनु भयो ।
संघले नगरपालिकाहरुको विभिन्न सूचक हेरेर पुरस्कार प्रदान गर्छ । त्यसका आधारमा सिद्धार्थनगरलाई उत्कृष्ट घोषणा गरिएको हो । मेयर खाँले सबैको मिहिनेत र योगदानले नगरपालिका उत्कृष्ट भएको भन्दै नगरबासीलाई धन्यवाद व्यक्त गर्नु भएको छ । ‘हामी जनप्रतिनिधि, कर्मचारी, नगरबासीको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भयौं’, उहाले भन्नु भयो –‘यो सम्मानले हामीलाई अझै कामप्रति थप जवाफदेही बनाएको छ ।’ आगामी दिनमा सवै सूचकांकहरुमा पालिकालाई सर्वोकृष्ट हुने गरी काम गर्नुपर्ने उहाले बताउनु भएको छ ।
नगरपालिकाले मुलुकभरका नगरपालिकाहरुलाई पछि पार्दै ८५ प्रतिशत अंक प्राप्त गरेको नगरपालिका संघले जनाएको छ । सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा पनि नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको जनाइएको छ ।
प्रकाशित मिति: २०२५-०३-२१ , समय : ०६:०३:२३ , १ हप्ता अगाडि