उर्मिला यादव यात्री , ११२ पटक हेरिएको

भैरहवा, फागुन २८
पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । नेपाल सरकार संचार तथा सूचना प्रबिधि मन्त्रालय सिंहदरबार काठमाडौंले मंगलबार बुटवलमा आयोजना गरेको महिला पत्रकारिता क्षेत्रको बिकासको निम्ति सरोकारवालाहरुको क्षमता अभिबृद्धी तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सो कुरामा जोड दिएका हुन । उनीहरुले आमसंचार माध्यममा महिलाको सहभागिता बढाएर पत्रकारिता क्षेत्रमा महिलालाई नेतृत्वमा दिन सके मात्र पत्रकारितामा नया आयाम थप्न सकिने बताएका हुन । पछिल्लो समय पत्रकारिता प्रति समाजले गर्ने अबिश्वास नै प्रमुख चुनौती बन्दै गएकोले महिलाहरुलाई पत्रकारिता क्षेत्रमा नेतृत्व दिन सके मात्र समाजले पत्रकारिता प्रति गर्ने अबिश्वासको श्रृंखलालाई केही हद सम्म रोक्न सकिने बिश्वास ब्यक्त गरेका छन ।
यस्तै गरी कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पत्रकारितामा महिलाहरुको प्रवेशलाई प्राथमिकता दिनुपर्ने बताउदै उनीहरुलाई सम्मानजनक रुपमा पेसामा टिकिरहन बनाउन आम सञ्चार क्षेत्र गम्भीर हुनुपर्ने जोड दिनु भएको छ । उहाले पत्रकारिता क्षेत्रमा पुरुष भन्दा महिलाहरु बढी इमान्दार भएकोले महिलालाई नेतृत्व दिन संचार माध्यमहरुलाई कन्जुस्याई नगर्न आग्रह गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा प्रेस काउन्सिलका निबर्तमान अध्यक्ष विजय राज अधिकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा लोभ वा स्वार्थका कारण प्रकाशित समाचारहरूले अन्तर्राष्ट्रिय स्तरमै पत्रकारिता पेसाप्रति जनविश्वास घटाइरहेको बताउनु भएको छ । उहाले पत्रकार आचार संहिताको प्रभावकारिता बढाउन तथा पत्रकारिताको गरिमा कायम गर्न महिला र पुरुष दुवैको समान भूमिका आवश्यक रहेको जोड दिनु भयो । पछिल्लो समय प्रबिधिको बिकाससंगै मिडिया प्रतिको अबिश्वासनियतामा सामाजिक संजालले प्रमुख चुनौती थपेको बताउदै सामाजिक संजालमा साना साना कुराहरु छिटो आइदिदा र ति सत्य तथ्यमा आधारित छन कि छैनन भन्ने कुरा आम नागरिकलाई जानकारी नहुदा त्यसलाइ र्नै बिश्वास गर्ने भएकोले यसले वास्तबिक मिडियालाई असर गरिरहेको बताउनु भएको छ । उहाले महिला नेतृत्वको सवाललाई समाजमा विश्वासको आधारका रूपमा हेरिन थालेको बताउँदै पत्रकारितामा महिलाको संख्यालाई बढाउन र उनीहरुको क्षमता अभिबृद्धि गर्ने कुरामा ध्यान दिनुपर्ने उल्लेख गर्नु भयो ।
यस्तै गरी सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले पत्रकारिताले प्रशासनिक तथा राजनीतिक क्षेत्रलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । उहाले निष्पक्ष पत्रकारिताले मात्रै जनविश्वास जित्न सक्ने भएकोले कुनै पनि सञ्चारमाध्यम वा पत्रकारले राजनीतिक दलहरूको स्वार्थभन्दा माथि उठेर सत्यतथ्य रिपोर्टिङ गर्नुपर्ने जोड दिनु भएको छ ।
यस्तै गरी कार्यक्रमका अध्यक्ष तथा सञ्चार तथा सूचना मन्त्रालयको सूचना अधिकारी उपसचिव ममता बाँस्तोलाले पत्रकारितालाई लैंगिकमैत्री बनाउन बिभिन्न चुनौतीको सामना गर्नुपरेको बताउनु भएको छ । उहाले पत्रकारिता भित्र लैंगिक संवेदनशीलताको बिषय नै प्रमुख चुनौतीको रुपमा देखिएको बताउनु भयो । उहाले पछिल्लो समय मिडियामा लैंगिक हिंसाका घटनाहरु बढदै गएकोले महिला पत्रकारको क्षमता बिकास संग संगै समग्र मिडियालाई नै कसरी संवेदनशी बनाउने बिषयमा पहलकदमी लिन आवश्यक भएको बताउनु भयो । महिलालाई पत्रकारितामा टिकाइराख्न उनीहरुको दक्षता बृद्धि, वृत्ति विकास, सञ्चारमाध्यमको सम्पादकीय भूमिकामा उचित स्थान र समाचार कक्षमा महिलामैत्री वातावरण बनाउन सञ्चारमाध्यमहरुले ध्यान दिनुपर्नेमा मन्त्रालय महासचिव बास्तोलाले जोड दिनुुभयो ।
यस्तै गरी नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले डिजिटल पत्रकारिता, साइबर सुरक्षासम्बन्धी ज्ञान तथा नयाँ प्रविधिको प्रयोग बिना आधुनिक पत्रकारिता अपूर्ण रहेको बताउनु भएको छ ।
यस्तै गरी अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै सञ्चारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले महिला पत्रकारको अवस्था, चुनौती र अपेक्षा बिषयमा कार्यपत्र प्रस्तुत गर्दै महिला पत्रकारलाई अवसर कम भएको बताउदै पत्रकारितामा महिलालाई लैंगिक बिभेद, बिट छनोट र पदोन्नतीमा भेदभाव, प्रजनन असुरक्षा ,नीतिगत असुरक्षा अभाव लगायतका चुनौतीहरुको सामना गरिरहनु परेको बताउनु भएको छ ।
उहाले नेपालमा महिला पत्रकारहरूको संख्यात्मक वृद्धि भए पनि उनीहरू अझै पनि पुरुषसरह अधिकार, अवसर तथा जिम्मेवारी पाउनबाट वञ्चित रहेको बताउनु भयो । अध्यक्ष अनमोलले विशेष गरी, ‘आमा सुरक्षा’ (महिला पत्रकारहरूको मातृत्व सुरक्षासम्बन्धी सुविधा) तथा ‘समान कामको समान पारिश्रमिक’ को सुनिश्चितता गर्न कानुनी तथा नीतिगत व्यवस्था आवश्यक रहेको बताउनु भएको छ । उहाले सरकारलाई महिला पत्रकारहरूलाई सुरक्षित वातावरण उपलब्ध गराउने पहल गर्न आग्रह गर्नु भएको छ ।
बुटवलमा आयोजित महिला पत्रकारिता क्षेत्रको बिकासको निम्ति सरोकारवालाहरुको क्षमता अभिबृद्धी तथा अन्तरक्रिया कार्यक्रम मन्त्रालयको उपसचिव ममता बास्तोलाको अध्यक्षता तथा जिल्ला समन्वय रुपन्देहीका प्रमुख उमाकान्त चपाइको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०३-१२ , समय : १०:०७:१९ , ७ घन्टा अगाडि