उर्मिला यादव यात्री , १८९ पटक हेरिएको

लुम्बिनी, फागुन २४
लुम्बिनी सांस्कृतिक नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लैंगिक हिंसा न्युनीकरण एवम महिला अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरको कार्यपालिका सदस्य चन्द्रकली सापकोटाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा महिला अधिकारको अवस्था, समाजमा महिलाले भोग्दै आएका बिभेद लगायत महिला अधिकार स्थापित गर्न महिलाले नै खेल्नुपर्ने भुमिकालाई जोड दिइएको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बिनिता शाहले स्वागत मन्तब्य राख्दै घरमा हुने बिभिन्न किसिमका लैङ्गिक हिंसा, यौनजन्य दुव्र्यवहार नियन्त्रण र महिला हक अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्न यस किसिमको अभिमुखीकरण कार्यक्रमले सहयोग पुर्याउने बताउनु भएको छ ।
यस्तै गरी कार्यक्रममा नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत केशव प्रसाद यादवले लैङ्गिक हिंसा अहिलेको समाजको मुख्य समस्या रहेकाले यसका बारेमा महिलालाई स्वंयम सचेत हुन आग्रह गर्नु भएको छ । उहाले कुनै न कुनै माध्यम महिला माथि लैङ्गिक हिंसाका घटना भएमा कानुनी उपचारका लागि न्यायिक निकायमा जानुपर्ने अन्यथा जस्तो सुकै हिंसात्मक घटनामा मिलापत्र गराउने परिपाटीबाट पनि हिंसा गर्नेलाई प्रोत्साहन मिलिरहेको बताउनु भएको छ ।
यस्तै गरी मायादेवी प्रगतीशील आमा समुहका अध्यक्ष मन्जु पराजुलीले शुभकामना मन्तब्य राख्दै घरभित्र हुदै आएको महिला हिंसा बिरुद्ध महिलाले आवाज उठाउनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम संचालन नगरको शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुलीले गर्नु भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा १३ वटै वडाका जनप्रतिनिधी, किशोरी संजालका पदाधिकारी, साथी संजाल बिभिन्न आमा समुहका पदाधिकारी लगायत ५० जना महिलाहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण परिर्वतनका लागी महिला समुह नेपालका अध्यक्ष रिता सेन वलीले गर्नु भएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य रुविना खातुन, लुम्बिनी युवा महिला संस्था अध्यक्ष शिला हरिजन, किशोरी अधिकार मञ्च रुपन्देहीका अध्यक्ष सुनिता हरिजन, लुम्बिनी साथी संजालका सचिव श्याम सिंह यादव लगायत सरोकारवाला ब्यक्तित्व लगायतको सहभागिता रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बिनिता शाहले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२५-०३-०८ , समय : ११:०२:४५ , ४ दिन अगाडि