रुपन्देही खबर , १३९ पटक हेरिएको

भैरहवा,फागुन २२
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र नेपाल ट्रेजर कार्बन लिमिटेडबीच सुधारिएको चुलो वितरण गर्ने सम्झौता भएको छ । सिद्धार्थनगर नगरपालिकाको ग्रामीण क्षेत्रमा परम्परागत चुलो प्रयोग गर्दै आएका घरपरिवारलाई सुधारिएको चुलो वितरण गर्ने सम्झौता भएको नगर प्रमुख इश्तियाक अहमद खाँ ले जानकारी दिनु भएको छ । नगरपालिका भित्र परम्परागत चुलो प्रयोग गर्दै आएका घरपरिवारको एकीन गरी सुधारिएको चुलो वितरण गर्न मंगलबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख खाँ र संस्थाकोतर्फबाट ट्रेजर कार्बन लिमिटेड नेपालका प्रमुख स्टेभेनले सम्झौता पत्रमा हस्ताक्षर गर्नू भएको हो ।
सम्झौतापछि उक्त संस्थाले नगरपालिकाको सहयोगमा सुरुमा परम्परागत चुलो प्रयोग गर्ने घर परिवारको छनौट गर्ने र छनौट पश्चात सम्झौताको ६ महिनाभित्र सुधारिएको चुलो वितरण गर्ने लक्ष्य लिइएको संस्थाकी प्रबन्ध निर्देशक समिक्षा बरालले जानकारी दिनु भएको छ । उहाले सुधारिएको चुलोको प्रयोगले ६० प्रतिशत दाउरा तथा गुईठाको प्रयोग कम गर्ने भएकोले कम दाउराको प्रयोगमा छिटो खाना पाक्नुका साथै कार्बन उत्सर्जनमा पनि कमी ल्याउने बताउनु भएको छ ।
नगरप्रमुख खाँ ले नगरबासीको स्वास्थ्यमा सुधार ल्याउन र वातावरण प्रदुषण कम गर्दै खाना पकाउँदा दाउरा, गुईठाको लागत कम गर्ने उद्देश्यका साथ नगरबासीलाई आधुनिक एवं सुधारिएको चुलो वितरण गर्न संस्थासँग सहकार्य गरिएको बताउनु भएको छ ।
नेपाल ट्रेजर कार्बन लिमिटेडले कार्बन कम उत्सर्जन कम गरी जलवायु परिवर्तनको असर कम गर्ने उद्देश्यले स्थापना भएको यो संस्थाले खाना पकाउँदा दाउरा तथा गुईठा प्रयोग कम गर्न सुधारिएको चुलो वितरण गर्ने गर्दछ ।
प्रकाशित मिति: २०२५-०३-०६ , समय : ०७:३५:३५ , ६ दिन अगाडि