रुपन्देही खबर , १३० पटक हेरिएको

भैरहवा, फागुन १९
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि स्क्रिनिङ शिविर सुरु गरेको छ । शिविरमा महिलाहरुको पाठेघर झरेको, पिसाव चुहिने समस्या जाँच गरिने छ । शिबिरको सोमवार वडा नं. ९ बाट सुरुवात गरिएको छ ।
शिविर नगरका बिभिन्न ४ स्थानमा हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनु भएको छ । शिबिर सोमवार वडा नं. ९, मंगलवार वडा नं. ३ को खजहना, बुधवार वडा नं. १ को बेलहिया र बिहीबार वडा नं. ११ को भुजौलीमा हुने छ । सवै शिबिरहरु वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रमा संचालन हुने छ ।
वडा स्तरमा शिबिर संचालन गरिए पनि आफूलाई पायक पर्ने स्थानमा गएर महिलाहरुले आफ्नो पाठेघर सम्वन्धी निःशुल्क स्वास्थ्य जाँच गराउन सक्ने व्यवस्था मिलाइएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जानकारी दिनु भएको छ ।
धेरै महिलाहरुमा देखिने पाठेघर सम्बन्धि यो समस्यालाई समयमै पत्ता लगाई उपचार गरि निको पार्ने र समस्या नै आउन नदिने उद्देश्यले नगरपालिकाले वर्षेनि शिबिर संचालन गर्दै आएको उहाले बताउनु भयो । नगर प्रमुख इश्तियाक अहमद खाँले नेपालमा महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्यु हुनेमा पहिलो कारण रहेको उल्लेख गर्दै समयमै पहिचान गरी उपचार गरे यो रोग निको हुने बताउनु भएको छ ।
उहाले उपचारमा सहजता होस् भनेर नगरपालिकाले निःशुल्क शिबिर संचालन गर्दै आएको जानकारी दिनु भयो । पाठेघरको मुखको क्यान्सरबाट बच्न व्यापक जनचेतना अभिवृद्धि गरी समयमा नै यो रोगको पहिचान गर्ने यस अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी लगायत सरोकारवाला संघ–संस्थाहरू सक्रियरूपमा संलग्न भई सहयोग गरिदिन उहाले आग्रह समेत गर्नु भएको छ ।
उहाले ३० वर्ष भन्दा माथिका सबै महिला दिदिबहिनीहरूलाई पाठेघरको मुखको परीक्षण गर्नु हुन तथा आ–आफ्नो घर परिवारका उक्त उमेर समूहका महिलाहरूलाई परीक्षणका लागि अभिप्रेरित गर्न अनुरोध समेत गर्नु भएको छ ।
प्रकाशित मिति: २०२५-०३-०३ , समय : २१:५५:३८ , १ हप्ता अगाडि